१९ बैशाख २०८१, बुधबार

माघे संक्रान्ति : नेपालका भिन्न समुदायको साझा पर्व


maghesakranti

१ माघ, काठमाण्डौ । माघ १ गते नेपालका अधिकांश जाति समुदायको साझा पर्वहरुको संगम हो । विशेष गरि हिन्दू, बुद्धमार्गी र किराँत समुदायको साझा पर्वको दिन हो माघ १ अर्थात माघे संक्रान्ति ।

हिन्दू समुदायले माघे सक्रान्ति अर्थात मकर संक्रान्तिका रुपमा रुपमा मनाउने यो दिनलाई मगर समुदायले माघे सकराती भनेर मनाउने गरेका छन् । त्यस्तै थारु समुदायले माघी र खिचरा पर्वका रुपमा मनाउने यो दिनलाई राई समुदायले येले थेचे र सुनुवार समुदायले सामी पिदार पर्वका रुपमा मनाउँछन् ।

नेपालका अधिकांश समुदायको साझा चाड रहेकाले माघे संक्रान्तिका दिन सरकारले सार्वजनिक विदा दिएको छ । समुदाय विशेषमा यो पर्व मनाउने तरिका भने फरक छ । तर सबैले आपसमा भेटघाट, रमाइलो र आफ्ना परम्परागत परिकारहरुका साथमा यो पर्व मनाउछन् ।

थारु समुदायले माघे संक्रान्तिलाई ‘माघी’ भन्छन् भने यो थारु समुदायका लागि महत्वपूर्ण चाड हो । माघी पर्व मेचीदेखि महाकालीसम्मका थारु समुदायले विशेष उल्लासका साथ मनाउँछन् । मध्य र सुदूरपश्चिमका थारु समुदायको बस्तीमा माघी उत्सव विषेश खालको हुने गर्छ ।

माघ १ गते थारु समुदायको नयाँ वर्ष सुरु हुन्छ । थारु समुदायमा ‘माघी पर्वमा पुरानो वर्षको समिक्षा र आगामी वर्षको लागि नयाँ योजना बनाउने काम गरिन्छ,’ दाङ क्षेत्रनम्बर एकबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मेटमणी चौधरी भन्छन्, ‘मान्यजनहरूसँग आशिर्वाद लिने, आफूभन्दा सानालाई आशिष दिने र सम्बन्धहरू नविकरण गर्ने दिन हो ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !