७ बैशाख २०८१, शुक्रबार

पाल्पामा सराय नाचबिना दशैँ बिदाई


सराय नाच

पाल्पा, १५ कात्तिक । यसपालिको दशैँ पूर्णिमा सराय नाच बिना बिदाई भएको छ । आश्विन पूर्णिमाका दिन आज यहाँका देवी देवताका मन्दिरमा सराय नाच निकालेर दशैँलाई एक वर्षका लागि बिदाई गर्ने प्रचलन थियो । यसपाला पाल्पाका अधिकाश देवी देवताको मन्दिरमा त्यस्तो नाच देखिएन । दशैँको टीका, जमरा बिर्सजन गर्ने पर्वका रुपमा पूर्णिमालाई लिने चलन छ । यस वर्षको दशैँ उत्साहबिना नै बिदा भएको पाल्पा रैनादेवी छहरा गाउँपालिका–५, मुझुङस्थित कालिका मन्दिरका पूजारी जङगबहादुर आलेले बताउनुभयो ।

पहिला मन्दिरबाट बाजासहित रमाइलो गरी सराय निकाली, काटौजेपानीमा तरबार नचाउने र दशैँलाई बिदाई गर्ने चलन कोरोनाका कारण सङ्कटमा परेको छ । “पाल्पा आसपासका क्षेत्रमा शनिबार देवालयमा पूजा गरेर मात्र दशैँ बिदा गर्न बाध्य भएका छाँै । दमाई बाजा बजाउने मानिस यसपालि मन्दिरमा आएनन् र बाजा बजेको छैन”, मन्दिरका पुजारी आले भन्नुभयो । पूजारीले मन्दिरको ढोका खोलेर पूजा बाहेक अन्य पूजा हुन सकेको छैन ।

जिल्लाको रिब्दीकोट गाउँपालिका–१, ख्याहको छत्रकोटमा २०÷२२ जना स्थानीयबासिन्दाले मात्र सराय निकाल्ने तयारी भएको स्थानीय बासिन्दा गीता कौशलले बताउनुभयो । पहिला सयौंको सङ्ख्यामा सराय नाच हुँदै आएकोमा अहिले परम्परा धान काम मात्र भएको कौशलको दाबी छ । पाल्पाको अधिकांश स्थानमा हुने पूर्णिमा साँस्कृतिक मेला महोत्सव प्रभावित भएका छन् । जिल्लाको तानसेनको लिपन्देवि, बौँघागुम्बा, रिब्दीकोट गाउँपालिका बतासे, ख्याहा, तिनाउँ गाउँपालिका क्षेत्रभित्र सराय निकाल्ने परम्परा रहे पनि यो वर्ष सराय कहीँकतै पनि देखिएन ।

दशैँको अवसरमा हुने धार्मिक तथा सांस्कृतिक मेला महोत्सव हुन नसक्दा आर्थिक कारोबार शून्य जस्तो भएको छ । दशैँ पूर्णिमा स्थानीय उत्पादन कपडा, महिलाका सिगारिक, खेलौनाको ठूलो मात्रामा कारोबार हुँदै आएको तर यसवर्ष त्यस्तो कारोबार हुन नसकेको व्यवसायीको भनाइ छ । स्थानीय आदर्श यूवा क्लबका अध्यक्ष पोषण रानाका अनुसार दशैँको अवसरमा हुने सांस्कृतिक कार्यक्रम कतै पनि हुन नसकेको हो । कोरोनाका कारण भीड हुने गरी मठमन्दिरमा भेला हुन रोक लगाएपछि चाडपर्व सुनसान बनेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !