७ बैशाख २०८१, शुक्रबार

अध्यादेश अधिनायकवादको स्पष्ट आकांक्षा : संयोजक मिश्र


रवीन्द्र मिश्र रविन्द्र मिश्र

९ वैशाख, काठमाडौं । नेपाल सरकारले सोमबार जारी गरेको दुई अध्यादेशबाट प्रधानमन्त्री केपी ओलीको अधिनायकवादतर्फको डरलाग्दो आकांक्षा प्रकट भएको साझा पार्टीको ठहर रहेको उक्त पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रेस बिज्ञप्ति जारी गर्दै बताएका छन् । आज मंगलवार पार्टीको धारणा सार्वजनिक गर्दै उक्त अनिष्टकारी कदम तुरुन्त फिर्ता लिन साझा पार्टी जोडदार माग गरेको छ ।

झण्डै दुई-तिहाई जनमत पाएर शासन गरिरहेको सरकारले गत २ वर्षभन्दा बढी समयमा जनतालाई काण्डैकाण्डको ठेली दिएर आम विश्वास गुमाएपछि, आफूलाई सत्तामा कायम राख्न प्रधानमन्त्रीमा स्पष्टत: निरंकुश, व्यक्तिवादी सोच हावी भएको देखिएको बिज्ञप्तिमा बताइएको छ ।

दुबै अध्यादेश प्रधानमन्त्री ओलीद्वारा आफ्नै पार्टीका अर्का अध्यक्ष तथा शीर्ष नेतृत्वसँग समेत छलफल नगरी छापामार शैलीमा मन्त्रीपरिषद्को बैठकमा पेश गरिएको र देश कोरोना भाइरस संक्रमणका कारण कठिन र अनिश्चयको परिस्थितिबाट गुज्रिरहेको बेला थोरैमात्र मानवीय विवेक र राजकीय जिम्मेवारीको वोध भएको नेताले गर्नै नसक्ने काम प्रधानमन्त्रीबाट भएको पनि आरोप बिज्ञप्तिमा लगाइएको छ ।

संसदमा बलियो जनमत हुँदाहुँदै संसदबाट नभइ पार्टी फूट र जुटको घृणित राजनीति तथा संवैधानिक निकायमाथिको पूर्ण नियन्त्रणबाट शासन चलाउन खोज्नु नेपालको दशकौँको लोकतान्त्रिक संघर्षकै उपहास भएको र लोकतान्त्रिक पद्दतिको आत्मा मानिने शक्ति पृथकिकरणको मान्यतामाथिको नाङ्गो आक्रमण भएको पनि उक्त बिज्ञप्तिमा छ ।

यो कोरोना विपद्का बेला समेत चरम भ्रष्टाचार हुँदा र सरकारले गरिरहेको नेतृत्व बढ्दो रूपमा विफल देखिँदै जाँदा राजनीतिक स्थिरतामा आँच पुर्याउन हुँदैन भनेर प्रधानमन्त्रीलाई निरन्तर साथ दिइरहेका जनताको घोर अपमान भएको बिज्ञप्तिमा जनाइएको छ ।

सिँगो नेपाली राजनीतिक वृत्तमाथि नै आम जनमानसमा चरम अविश्वास बढ्दै गएको बेला सरकारले ल्याएको उक्त अध्यादेशले नेपालको लोकतन्त्रलाई नै संकटतर्फ उन्मुख गर्न सक्ने र आफ्नो असक्षमता र अकर्मण्यता छोप्न स्थापित संस्था तथा लोकतन्त्रका मूल्यमान्यतामाथि प्रहार गर्ने पुरानै नेपाली राजनीतिको शैलीकाे पुनरावृत्ति गरेको बिज्ञप्तिमा जनाइएको छ ।

आज जे भएको छ त्यो तत्कालको कदमको नतिजामात्र नभएर नेपालमा दशकौँदेखि देखिएको स्वार्थलिप्त, गैरजिम्मेवार, विकृत, विसंगतिपूर्ण, राष्ट्रघाती राजनीतिको परिणाम भएकोले यो परिस्थितिलाई बदल्नका लागि आफ्नो, आफ्नो सन्तान र मातृभूमीको हित र रक्षाका लागि सबै राजनीतिकर्मी तथा आम नेपालीहरूलाई आ-आफ्ना राजनीतिक मतभेद छोडेर एकजुट हुन पनि उक्त पार्टीले हार्दिक अपील गरेको छ ।

यो पनि पढ्नुहोस्

कविता – सर्वाहाराको नेतृत्व


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !