१४ बैशाख २०८१, शुक्रबार

संगठित अपराधीलाई हतियारको लाईसेन्स


criminal nepal criminal nepal

ललितपुर-प्रहरी र अनुसन्धानगर्ने निकायमा संगठित अपराधीको सूचीमा रहेका एकजनालाई गृह मन्त्रालयले बढी मार क्षमताका दुईथान हतियार राख्ने अनुमति दिएको खुलेको छ।
अपहरण र फिरौतीको आरोपमा पक्राउ परि कारागारमा ६ महिना बिताएका बाबु भनिने विश्वक्रान्ति सिंहलाई जेलमुक्त भएको केही महिनामै गृह मन्त्रालयले दुई थान आधुनिक हतियार र तीनसय थान गोली राख्न अनुमति दिएको खुलेको हो। यस्तै बारम्बार विभिन्न घटनाको अनुसन्धान र आरोपमा प्रहरीले पक्राउ गर्दै आएका सिंहको इजाजत पत्र प्रशासन कार्यालयले बिना कुनै रोकटोक २०७३ असार मसान्तसम्मका लागि नविकरण समेत गरेको फेला पारेको छ।

महानगरीय प्रहरी परिसर ललितपुरले ब्यापारीलाई हतियार देखाएर धम्काएको आरोपमा लागु औषध सहित पक्राउ गरेका सिंहले कारागार मुक्त भएको आठ महिनामै गृह मन्त्रालयको अनुमति लिएर दुईथान हतियार बोक्न थालेका थिए । नागरिकन्युजलाई प्राप्त विवरण अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिंहका नाममा हातहतियार तथा खरखजाना राख्न पाउने इजाजत पत्र जारी गरेको भेटिएको हो । प्रशासन कार्यालयले २०६५ फागुन २३ गते जारी गरेको इजाजत नम्बर १२७८० अनुसार सिंहलाई दुईथान हतियार र एक वर्षमा तीनसय थान गोली राख्न पाउने अनुमति दिएको हो । प्रशासन कार्यालय काठमाडौंको विवरण अनुसार सिरियल नम्बर १२८०६२६ अनुसार प्वाईन्ट टुटुको राईफल र सिरियल नम्बर १०६३६ अनुसार ३७५ बोरको एकनाले राईफल राख्न इजाजत दिएको हो ।

जिप्रका काठमाडौंले हातहतियार तथा खरखजाना ऐन २०१९ अनुसार मानसिक अवस्था ठिक भएको र कुनै फौजदारी कसुर नलागेको ब्यक्तिले रितपूर्वक दिएको निवेदनलाई शान्ति समितिबाट निर्णय गराई हतियार राख्न इजाजत दिनसक्ने ब्यवस्था रहेको छ। प्रहरीले दिने ब्यक्तिको मुचुल्कालाई मुख्य आधार मान्ने शान्ति समितिमा प्रमुख जिल्ला अधिकारी अध्यक्ष र तीनै सुरक्षा निकायका जिल्ला प्रमुख सदस्य रहने ब्यवस्था छ। सिंहको हकमा जिप्रका काठमाडौंले पावर र प्रलोभनका भरमा फौजदारी अभियोगमा पक्राउ परि कारागार मुक्त भएको र २०५६ सालदेखि नै विभिन्न आपराधिक घटनामा संलग्न रहेका ब्यक्तिलाई हतियार दिने र नविकरण गर्दै आएको छ।

सिंहले लिएको इजाजत पत्र २०६९ भदौ १ गते जिप्रका काठमाडौंका लेखा अधिकृत ऋृषिदेब खनाल र २०७१ साउन ५ गते देखि दुई वर्षका लागि लेखा अधिकृत शरदप्रसाद नेपालले नविकरण गरेका छन्। नविकरणका समय हतियार र गोली दुबैको विवरण र खर्च स्पष्ट हुनुपर्ने कानुनी ब्यवस्थालाई समेत जिप्रका काठमाडौंले पालना गरेको छैन। प्रशासनको रेर्कडमा तीनसय थान गोली यथावत रहेको देखिएपनि प्रहरीले पाँचदिन अघि पक्राउ गरेका सिंहका साथबाट जम्मा एकसय ५८ थान गोली बरामद भएको छ।

जिप्रका काठमाडौंका प्रवक्ता गणेशप्रसाद भट्टराईले हतियारको ईजाजत र नविकरण गर्ने निकाय र अनुगमन तथा पक्राउ गर्ने निकाय बिच देखिएको समन्वयनको अभावमा घटना भएको हुनसक्ने बताए। उनले ऐनमा फौजदारी अभियोग लागे नलागेका बिषयमा प्रहरीको मुचुल्कालाई आधार बनाएर शान्ति समितिले गृहमा सिफारीस गर्ने स्पष्ट पारे। ” हतियारका बिषयमा यस्ता घटना सार्वजनिक भै रहेका छन, कसरी प्राप्त गरेछन, हामी खोज्छौ,” भट्टराईले भने।

पछिल्लो पटक दुई वर्षका लागि इजाजत पत्र नविकरण गरेका लेखा अधिकृत नेपालले सिंहको इजाजत सम्बन्धी फाईल गोप्य हुने भन्दै केही बताउन चाहेनन्। उनले नविकरणका लागि इजाजत किताबमात्र लिएर आउने प्रचलन रहेको बताए। ” नविकरणमा आउनेलाई गर्दै आएका छौ, फाईल त गोप्य रहन्छ, उनले भने ” थुप्रै फाईल अध्यारो कोठामा छन् खोज्न सकिदैन।”

परिसरका एसएसपी हतियारका बिषयमा अनुसन्धान भै रहेको बताए। उनले हतियारको मुद्दामा प्रहरीले लागुऔषधको मुद्दापछि थप अनुसन्धान गर्ने बताए । “हामी अहिले बरामद लागुऔषधका बिषयमा अनुसन्धान गर्दै छौ, हतियारका बिषयमा पछि थाह होला,” अधिकारीले भने । उनले अनुसार हतियार इजाजत प्राप्त भएपनि बढि मार क्षमताका भएको कारण कसरी प्राप्त गरेको हो अनुसन्धान हुने बताए ।

प्रहरीले सिंह सहित अन्य तीनजनालाई मितेरी यातायातका संचालक शेखर गुरागाईलाई अपहरण गरि दुई करोड फिरौती लिनेबेला पक्राउ गरेको हो । तात्कालिन अनुसन्धान अधिकृत रहेका एसपी उत्तम सुवेदीले सिंह सहित बाघबहादुर लामा, राजु बोगटी र समिरमानसिंह बस्नेत अपहरणको आरोपमा पक्राउ परेका थिए । उनका अनुसार अपहरण तथा शरिर बन्धक ऐन नभएका कारण उनिहरुलाई मानव ओसारपसार तथा शरिर बेचबिखन ऐन अनुसार कारवाही चलेको हो ।” अपहरण पछि फिरौती लिनेक्रममा हामीले पक्राउ गरेका थियौ, पूर्पक्षका लागि थुनामा गएका सिंह धरौटीमा छुटेका थिए,” एसपी सुवेदीले भने।

प्रहरी हिरासतमा रहेका सिंहले राजनीतिक दलका नेता र केही संगठित अपराधीको निर्देशनमा लाईसेन्सधारी हतियार देखाएर ब्यापारीलाई धम्काउने गरेको अनुसन्धानमा खुलेको छ । यस्तै हतियारकै भरमा असुली र ठेक्कापट्टा हत्याउदै आएको परिसरका एसपी अशोक सिंहले बताए । उनले ललितपुरलाई आधार क्षेत्र बनाएर ठेक्कापट्टामा गुण्डागर्दी गर्ने समुहका लागि सिंहले काम गर्दै आएको प्रमाण प्रहरीले फेला पारेको बताए। “राजनीतिक आवरणमा अपराधमा सक्रिय केही ब्यक्तिको नाम आएको छ, हामी अनुसन्धान गर्दै छौ,” एसपी अशोकले भने । प्रहरी स्रोतका अनुसार सिंहको ललितपुर कांग्रेसका नेता मिनकृष्ण महर्जनसँग निकटता देखिएको छ।

प्रहरीले लागुऔषध खैरो हेरोइन र समुन्द्री घोडा सहित पक्राउ सिंहलाई चैत्र २४ गते पक्राउ गरेको हो । प्रहरीले ठेक्कापट्टाहरुवाट असुली गर्ने, ब्यवसायीहरुलाई धम्की दिदै रकम असुली गर्ने, लेनदेनको रकम असुली गरेर कमिशन लिने, गुण्डागर्दी गर्ने , ग्याङ्ग फाईटमा संलग्न हुने, लागुऔषधको कारोबार गर्ने, हाउजिङ्ग ब्यबसायीहरुलाई धम्की दिई रकम असुली गर्ने र जनमानसमा डर र त्रास फैलाई आतंकित पार्ने अरोपमा सिंह बिरुद्ध अनुसन्धान भै रहेको जनाएको छ। स्रोत नगरिकन्युज


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !