१९ बैशाख २०८१, बुधबार

राजपा केन्द्रीय सदस्यमाथि ५ अर्ब ठगीको आरोप


२३ पुस, काठमाडौं । राजपाका केन्द्रीय सदस्य रामवावु यादवको ठगी धन्दाबारे केहि तथ्य खुलासा भएको छ । झन्डै २ सय गरिब तथा विपन्न परिवारलाई ऋण दिएर उनीहरूबाट चर्को रकम असुल गरी ५ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा उनीमाथि गृह मन्त्रालयले छानबिन सुरु गरेको छ । यादव घरजग्गा कारोबारीसमेत हुन् । राजधानी दैनिकमा समाचार छ ।

सर्लाही मलंगवा–१ का रामबाबु यादव र सोनबर्साका सञ्जय शाह रौनियारले विभिन्न समयमा सर्वसाधारणलाई तमसुकमा सहीछाप गर्न लगाएर ५ अर्ब बढी ठगी गरेको गुनासोसहित पीडितहरू गृह मन्त्रालय आएपछि मन्त्रालयले छानबिन सुरु गरेको हो । उनीहरूले यादव र शाहले विभिन्न बहानामा जालझेल गर्दै करकापमा पारी जग्गासमेत खाइदिएको आरोप लगाएका छन् । तराई क्षेत्रमा पैसावालले चर्को ब्याज (मिटर ब्याज) लगाएर सर्वसाधारण ठग्ने क्रम उच्च छ ।

पीडितहरू गृह मन्त्रालय आउनुअघि नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सँगै लिएर न्याय माग्न सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको निवासमा पुगेका थिए । त्यसपछि पीडितहरू उजुरीका लागि गृह मन्त्रालय गएका हुन् । गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य पथिकले पीडितहरू अन्यायमा परेको र अर्बौं ठगी भएको गुनासोसहित गृह मन्त्रालयमा आएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !