१५ जेष्ठ २०८१, मंगलबार

ओली सरकारले निर्णय गरेका १४ राजदूतको सिफारिस फिर्ता


मन्त्रिपरिषद बैठक फाइल फोटो

काठमाडौं: केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका राजदूतको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उल्टाएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक पृष्ठभूमिका आधारमा सिफारिस गरिएका १४ जना राजदूतको नाम फिर्ता लिने निर्णय गरेको हो ।

ओली नेतृत्वको अघिल्लो सरकारले परराष्ट्र सेवाका ८ सहित २२ देशका लागि राजदूत सिफारिस गरेको थियो। प्रस्तावित राजदूतमध्ये परराष्ट्र सेवाका आठजना राजदूतको संसदीय सुनुवाइ विशेष समितिले यसअघि नै गरिसकेको छ। राजनीतिक पृष्ठभूमिबाट प्रस्तावित बाँकी १४ राजदूतहरुको सुनुवाइ भने बाँकी थियो।

संसदीय सुनुवाइ विशेष समितिले परराष्ट्र सेवाबाट प्रस्तावित राजदूत सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकाशकुमार सुवेदी, ऋषिराम घिमिरे, रमेश खनाल, झवीन्द्रप्रसाद अर्याल, डा दुर्गाबहादुर सुवेदी र लोकबहादुर थापाको सुनुवाइ गरिसकेका छ। परराष्ट्र सेवाबाट प्रस्तावित यी राजदूत बाहेक राजनीतिक पृष्ठभूमिबाट प्रस्तावित बाँकी १४ राजदूतहरुको सिफारिस भने प्रचण्ड नेतृत्वमा बनेको सरकारले फिर्ता लिन लागेको हो।

राजनीतिक पृष्ठभूमिबाट महेन्द्रबहादुर पाण्डे, डा‍. खड्गबहादुर केसी, डा‍. नारदनाथ भारद्वाज वाग्ले, डा. शिवमाया तुम्बाहाम्फे, अलिअख्तर मिकरानी, युवराज कार्की, युवनाथ लम्साल, प्रा डा. महेन्द्रप्रसाद सिंह राजपुत, पदम सुन्दास, लक्की शेर्पा, खगेन्द्र बस्न्यात, भरतबहादुर रायमाझी, निरञ्जनकुमार थापा र शर्मिला पराजुली ढकाललाई ओली नेतृत्वको सरकारले राजदूतका लागि सिफारिस गरेको थियो ।

गत वैशाख ७ गतेको मन्त्रिपरिषदको बैठकले विभिन्न मुलुकका लागि २२ जनाको नाम राजदूतमा सिफारिस गरेको थियो। तीमध्ये ८ जना परराष्ट्र सेवा र १४ जना राजनीतिक पुष्ठभूमिका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !