१४ जेष्ठ २०८१, सोमबार

संविधान कार्यान्वयन र कानून निर्माणसम्बन्धी अन्तर्क्रिया सम्पन्न


Mahendra Bahadur shahi

२० साउन, सुर्खेत । जनसंख्या र विकासका लागि सांसदहरुको मञ्च नेपालले आयोजना गरेको ‘संविधान कार्यान्वयन, संघ र प्रदेशबीचको अन्तरसम्बन्ध तथा दिगो विकास’ विषयक अन्तक्र्रिया शनिबार कर्णालीमा सम्पन्न भएको छ ।

सो दुईदिने अन्तक्र्रियामा कर्णाली प्रदेशसभा सदस्यको सहभागिता थियो ।

सो अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यस्ता कार्यक्रमले कानून निर्माण, विकास र संविधान कार्यान्वयन प्रक्रियालाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश सरकारले निर्माण गर्ने एकल सूचीका कानून र साझा सूचीका कानूनबारे स्पष्ट धारणा पाइएको उल्लेख गर्दै उहाँले सहज, सरल र विकासमैत्री कानून निर्माणमा प्रदेश सरकार लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान कार्यान्वयनमा सांसदहरुको भूमिका बिषयमा प्रस्तुति गर्दै प्रदेश सरकारले नागरिकलाई सहज हुने खालको बोधगम्य, सहज एवं दोहोरो अर्थ नलाग्ने कानून निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रशासनविद् काशीराज दाहालले कानून निर्माणका प्रक्रिया, यसमा संघीय र प्रदेश संसद्को भूमिका तथा नेपालको संविधान र संघीयता ः तहगत अन्तर सम्बन्ध विषयक प्रस्तुती गर्दै एकल सूचीका कानून जतिसक्दो छिटो बनाउन प्रदेशसभा सदस्यलाई सुझाव दिनुभयो ।

नेपाल सरकार (प्राकृतिक स्रोत साधन तथा वित्त आयोग)का सचिव वैकुण्ठ अर्यालले स्रोत व्यवस्थापन र वितरण प्रक्रियामा संघ र प्रदेशको अन्तर सम्बन्धका विषयमा प्रस्तुती गर्नुभयो ।

आयोजक संस्थाका अध्यक्ष महालक्ष्मी उपाध्याय (डिना) ले जनसंख्या र विकासको अवधारणा, दिगो विकास र लैङ्गिक समानतालाई मुलुकका सबै प्रदेशले अध्ययन गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा खड्ग केसीले सांसद, संसदीय आचरण, कूटनीतिक र वैदेशिक सम्बन्धका बारेमा तथा पूर्वशिक्षामन्त्री डिआर पौडेलले संघीयता कार्यान्वयन र वर्तमान शिक्षा नीतिको परिमार्जनसम्बन्धी विश्लेषणात्मक प्रस्तुति गर्नुभयो ।

कार्यक्रममा प्रदेश सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्ती, नेकपाका संसदीय दलका नेता यामलाल कँडेल, नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कार्यक्रम निकै उपलब्धिमूलक भएको बताउँदै यसबाट कर्णाली प्रदेशसभाका सदस्यलाई कानून निर्माण तथा कार्यान्वयन गर्ने सवालमा राख्ने विवेक, अपनाउने संयमताका बारेमा प्रष्ट भएको धारणा व्यक्त गर्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !