काठमाडौँ । पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुद्दा दर्ताका लागि विशेष अदालत पुगेको थियो । उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
जग्गा हिनामिना गर्ने योजनामा भएको घुस डिल प्रकरणमा पूर्वमन्त्रीद्वय र बिचौलियासहितका व्यक्तिको अडियो सार्वजनिक भएपछि यो प्रकरणमा मुद्दा अघि बढेको हो ।
सार्वजनिक जग्गा सुकुम्वासीका नाममा निजीकरण गरी ठूलो भ्रष्टाचार हुन लागेको अडियो सार्वजनिक भएपछि तत्कालीन मन्त्री गुप्ताले राजीनामा दिएका थिए । अडियोमा ‘पैसा खाइसक्यो’ भनेर पोलिएका तत्कालीन भूमिसुधारमन्त्री बलराम अधिकारीले भने राजीनामा दिएका थिएनन् ।
गुप्तासँगै पूर्व भूमिसुधारमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि विवादमा तानिएकी थिइन् । उनीसहित संलग्न भनिएकाहरूलाई अख्तियारले बयानमा बोलाएको थियो ।












