८ जेष्ठ २०८१, मंगलबार

भदौसम्म सुधार नभए कालिमाटी बजार नै हटाईदिने मन्त्री खनालको चेतावनी


chakramani khanal

१९ असार, काठमाडौं । कृषि, भुमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले भदौसम्म पनि कुनै सुधार नगरे कालिमाटी बजार नै हटाईदिने चेतावनी दिएका छन् । आफू स्थलगत अनुमगनमा जाँदा कालिमाटी बजारमा रहेका ९९ वटा स्टलहरु सुधार गर्न जरुरी रहेको पाईएको बताउँदै उनले आफूले भदौसम्म सुध्रने मौका दिएको स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले भने,‘भदौसम्मपनि कुनै सुधार भएन भने हामी आवश्यक परे कालिमाटी बजार नै बन्द गराउन बाध्य हुन्छौं, सुधारको लागि हदैसम्मको समय दिईएको छ, त्यति गर्दापनि कुनै सुधार भएन भने बजार हटाईन्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले कालिमाटी फलफुल तथा तरकारी बजार स्थलमा रहेका स्टलहरु समितिले निर्धारण गरेको मुल्यभन्दा दशौं गुणा बढि लिईएको भेटिएकोले आफूले स्थलगत अनुगमन गरेर निर्देशन दिएको सुनाए । उनले भने,‘समितिसँग दश हजारमा स्टलहरु लिएर ती व्यक्तिहरुले उक्त स्टलहरु आफूले नचलाईकन दशौं गुणा बढि पैसा लिएर अरुलाई चलाउन दिईएको भेटियो, दश हजार पर्ने स्टल एक लाख दश हजारसम्म लिएको भेटियो, यो हदैसम्मको लापरवाही हो, समितिसँग जसले स्टल लिएको हो, उसैले सञ्चालन गर्नुपर्छ, यसको लागि मैले कडाभन्दा कडा निर्देशन दिएको छु।’ कतिपय स्टलहरुमा उपभोग नै गर्न नमिल्ने कुहिएका र सडेगलेका माछामासु लगायतका वस्तुहरु समेत राखिएको उनको गुनासो छ ।

मन्त्री खनालले किसानहरुले आफूले उत्पादन गरेका वस्तुहरु सिधै उपभोक्ताहरुसमक्ष पुर्याउने वातावरण बनाउने पनि विश्वास दिलाए । उनले भने,‘अहिले त धेरै लेयरहरु देखिएका छन्, ती सबै तोड्न जरुरी छ, ताजा वस्तु, सही समयमा त्यो पनि उचित मूल्यमा उपभोक्ताहरुले पाउने वातावरण बनाउँछु।’
खनालले दुध र पानीमा कोलिफार्म र सोडा भेटिएको उल्लेख गर्दै भने,‘काठमाडौंमा हामीले विभिन्न ४२ वटा दुधका नमूना संकलन गरेर परिक्षण गर्दा झण्डै ४० वटा नमूनामा कुनै न कुैन मात्रामा सोडा पाईएको छ, तर धेरैजस्तो दुधमा दुध नफाटोस भनेरमात्रै सोडा प्रयोग गरेको पाईयो, अब त्यसो पनि गर्नुभएन, उपभोक्ताले स्वच्छ दुध पिउन पाउनुपर्छ।’ त्यस्तै जार र मिनरल वाटर लगायतका पिउने पानीमा समेत कोलिफार्म भेटिएको उनको भनाई थियो ।

उनले पानीमा देखिएको खराबीमा आफूहरुले दिएको निश्चित् समयसिमाभित्र पनि सुधार नगरे बाध्य भएर पानी उद्योगमा तालाबन्दी गर्ने पनि चेतावनी दिए । मन्त्री खनालले भने,‘पानीको ४२ वटा नमूना लिँदा झण्डै ३९ नमूनामा कोलिफार्मको मात्रा भेटिएको थियो, यसलाई पनि शुन्यमा झार्नुपर्छ, मन्त्रालयमा गठित अनुगमन संयन्त्रलाई निर्देशिका तत्काल लागु गर्नका लागि मैले निर्देशन समेत दिएको छु।’ आगामी तीन महिनाभित्र सुधार नभए निर्देशिका बमोजिम जनताको स्वास्थ्यमा खेलबाड गर्नेलाई आवश्यक कारबाही गरिने उनको चेतावनी थियो । यद्धपी उनले अहिले बजारमा हल्ला भएजस्तो दुधमा युरिया भने नभेटिएको दाबी गरे ।

सरकारको प्रभावकारितामा प्रश्न गर्ने बेला नै नभएको उनको जिकिर छ । उनले भने,‘यो सरकार एकाध पुपुलिष्ट, प्रचारात्मक र लोकप्रिय काम गर्नको लागि आएको होईन, यो सरकार स्थायी छ, हामी योजनावद्ध ढंगले अघि बढ्छौं, आर्थिक समृद्धि र विकास सरकारको मूल नारा छ, यो नारालाई सार्थक बनाउनेगरि काम गर्छौं, लोकप्रियता हाँसिल गर्नको लागि मात्रै सरकार गठन भएकै होईन, हामीले छिमेकी मित्रराष्ट्रहरुसँग नयाँ सम्बन्ध कायम गरेर विकास र समृद्धिमा सहयोग लिन्छौं।’
जनतालाई भूमी र आवासको व्यवस्था गर्ने लगायत आगामी २ वर्षभित्र सुकुम्वासी, भूमि व्यवस्थापन लगायतका मूल÷मूल समस्याहरु हल गर्ने समेत उनले विश्वास दिलाए । आफूले अहिले तत्कालिन, मध्यकालिन र दिर्घकालिन योजना बनाएर काम गरिरहेको पनि मन्त्री खनालले सुनाए । आगामी ५ वर्षभित्र कृषि उत्पादन दोब्बर बनाउने सरकारको लक्ष्य बमोजिम आफू कार्ययोजना बनाएर अघि बढेको पनि उनको भनाई छ ।

यो वर्षभित्रै मोही र सुकुम्वासी समस्या हल गर्नको लागि मन्त्रालयले संयन्त्र समेत गठन गरेको जनाउँदै खनालले भने,‘हामीसँग प्राप्त तथ्यांक अनसार अहिलेसम्म एक लाख २१ हजार मोही छन्, भदौ मसान्तभित्र सबै मोहीको तथ्यांक यकिन गरिसक्छौं, र ती सबैको समस्या हामी एक वर्षभित्रै हल गर्छौं।’ सुकुम्वासी समस्यापनि संविधान अनुसार समाधान गर्ने पनि उनले जनाए । कृषि भन्नेवित्तिकै भूमी जोडिएकोले कृषिमा यान्त्रिकरणको लागि प्राप्त जमिन नै नभएको उनको गुनासो छ ।

कृषिमा जमिनको खण्डिकरण रोक्ने बहस चलिरहेको सुनाउँदै मन्त्री खनालले भने,‘क्याविनेटबाटै यसअघि नै पारित भएको भूमी नीति कार्यान्वयनको तहमा लिएर लैजान्छौं, अहिले हामीसँग ११ प्रकारका जमिन छन्, तीनीहरुलाई अब चार भागमा वर्गीकरण गर्छौं, यसको लागि बलियो संयन्त्र निर्माण गरेका छौं, भुमिको पनि अब चाँडै व्यवस्थापन हुन्छ ।’

मुलुकभर यतिवेला बाढि, पहिरो लगायत प्राकृतिक प्रकोपको घट्नाहरु घटिरहेकोप्रति सरकारको ध्यानाकार्षण भएको बताउँदै उनले भने,‘हामीले भर्खरै प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री राहत कोष सञ्चालनको बैठक समेत सम्पन्न गरेका छौं, गृह र अर्थमन्त्रालय लगायत सम्बन्धित मन्त्रालय लगायत अन्य सरोकारवाला निकायलाई प्रधानमन्त्रीले आवश्यक निर्देशन दिईसक्नुभएको छ, सरकार प्राकृतिक प्रकोपबाट हुने क्षति नियन्त्रण गर्न, उद्धार र राहतको व्यवस्थापन गर्न उच्च सकर्ततामा रहेको छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !