८ जेष्ठ २०८१, मंगलबार

नेपालमा लगानीका लागि धेरै सम्भावना छन् : महिलामन्त्री चौधरी


भगवती चौधरी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले नेपालमा लगानीको सम्भावना भएको भन्दै लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आह्वान गरेकी छन् । आजदेखि सुरु लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपालका विभिन्न क्षेत्रमा लगानीको सम्भावना रहेको भन्दै लगानी गर्न आह्वान गरे ।

उनले सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि काम गरिहहेको बताए । लगानी सम्मेलनमार्फत आवश्यक लगानी आकर्षित गर्नका लागि सरकारले विभिन्न ऐन संशोधन समेत गरेको उल्लेख गरे ।

उनले सरकारले पनि लगानी बढाउनका लागि सोहीअनुसारको वातावरण तयार गरिदिनुपर्नेमा जोड दिए । “नेपालमा लगानी बढाउनका लागि लगानीकर्ताहरूलाई वातावरण निर्माण गरिदिनुपर्छ, सरकारले पनि कानुनमा देखिएका समस्यालाई अध्यादेशमार्फत सम्बोधन गरेको छ”, मन्त्री चौधरीले भने, “खासगरी जग्गाको हदबन्दी र नदी कोरिडोर र वातावरणीय विषय सम्बोधन गरिएको छ ।”

लगानीका दृष्टिले नेपाल सम्भावनायुक्त देश भएको भन्दै मन्त्री चौधरीले कानुनी, भौगोलिक तथा रणनीतिक हिसाबले पनि उचित भएको बताए । “नेपालमा लगानी गर्नका निम्ति प्रशस्तै सम्भावना छन्”, उनले भने, “खासगरी नेपालमा लगानी गर्न चाहने वैदेशिक लगानीकर्तालाई म लगानीका लागि आह्वान गर्न चाहन्छु । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय लगानीकर्ता सबैका लागि यहाँ ठाउँ पनि छ, सम्भावना पनि छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !