१८ बैशाख २०८१, मंगलबार

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


प्रतिनिधिसभाको बैठक

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको हो ।

संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउने सम्भावित पहिलो कार्यसूची रहेको छ ।

यस्तै आजको बैठकमा चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीहरूबाट टेबुल गरिने सम्भावित दोस्रो कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८० पेस गर्ने तेस्रो सम्भावित कार्यसूची रहेको छ ।

साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने चौथो कार्यसूची रहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०५० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने पाँचौ सम्भावित कार्यसूचीमा रहेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छैटौं सम्भावित कार्यसूची रहेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सातौं सम्भावित कार्यसूची रहेको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित माननीय सदस्यहरूको अनुपस्थितिको सूचनाहरू सभाको स्वीकृतिको लागि पेस गर्ने आठौँ सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सरकारले आजै वैशाख २ गतेदेखि संसदको चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले आज वैशाख २ गते मध्यरातिदेखि संसदको चालू अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !