१८ बैशाख २०८१, मंगलबार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ आजको सम्भावित कार्यसूची


ईश्वरीदेवी न्यौपाने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बैठक बस्ने भएको हो ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने पहिलो सम्भावित कार्यसूची रहेको छ भने
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने दोस्रो कार्यसूची रहेको छ ।

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तेस्रो सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्ताव प्रस्तुत गर्नेछन् भने भन्सार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने चौथो सम्भावित कार्यसूची रहेको छ ।

साथै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले निर्माणमुखी सामग्री व्यवस्थापन तथा नियमन विधेयक २०८० दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित पाँचौं सम्भावित कार्यसूची रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !