२० बैशाख २०८१, बिहिबार

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस


कृष्णबहादुर महरा फाइल फोटो

काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरिएको छ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो । उक्त आयोगले महरालाई बयान समेत लिएको थियो ।

इलेक्ट्रिक चुरोट ‘भेप’मा भेपमार्फत गरिएको सुन तस्करीमा महराको संलग्नता देखिएको जाँचबुझ आयोगको ठहर छ । पूर्व सभामुख महरालाई फेरि अनुसन्धान गरेर मुद्दा चलाउन आयोगले सिफारिस गरेको गृह मन्त्रालय स्रोतले बताएको छ ।

उनका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । ६० किलो सुन हङकङबाट र भेपमा लुकाएर दुबईबाट काठमाडौँमा सुन तस्करी भएको थियो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आज बिहीबार प्रतिवेदन बुझ्दै यसमा समावेश विषयहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सुन तस्करी प्रकरणको अनुसन्धानमा सीआईबीबाट गम्भीर त्रुटि भएको समेत बताएका छन् ।

पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा गठन भएको समितिमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज सदस्य थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !