२१ बैशाख २०८१, शुक्रबार

नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै


काँग्रेस संसदीय दलको बैठक शेरबहादुर देउवा फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनको लोत्से हलमा कांग्रेसको संसदीय दलको बैठक आज बिहान ९ बजेका लागि बैठक बोलाइएको हो ।

अप्रत्यासित रुपमा सत्ताबाट विमुख भएपछि पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सोबारे छलफल गर्न पार्टीको संसदीय दलको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल प्रचण्डले नयाँ गठबन्धन बनाएपछि मुख्य सत्तारुढ दल कांग्रेस अब प्रमुख प्रतिपक्षी दलको भूमिकामा धकेलिएको छ । सत्ता समीकरण बदलिएपछि कांग्रेस सक्रिय भएको हो ।

आज बिहीबार सङ्घीय संसद्का दुवै सदनको बैठक बोलाइएको छ । संसद्को बैठकअघि कांग्रेसले अब प्रमुख प्रतिपक्षीको भूमिकामा संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउन बैठक बोलाएको बताइएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयहरू र पार्टीको अबको रणनीतिका विषयमा छलफल र निर्देशन हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनका अनुसार बिहान साढे ८ बजे संसदीय दल कार्यसमितिको बैठक बस्नेछ भने ९ बजे संसदीय दलको बैठक बोलाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !