२१ बैशाख २०८१, शुक्रबार

गुणस्तरीय शिक्षाको विकासमा केन्द्रित हुन राष्ट्रपति पौडेलको आह्वान


रामचन्द्र पौडेल

पाँचथर । राष्ट्रपति रामचन्द्र पौडेलले अबको शिक्षा प्रणाली गुणस्तरीय शिक्षाको विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै त्यस निम्ति सम्बद्ध पक्षलाई इमानदारीपूर्वक काम गर्न आह्वान गरेका छन् ।

पाँचथरको फिदिमस्थित पाँचथर बहुमुखी क्याम्पसले आर्थिक रूपमा आफूलाई सबल तुल्याउन अक्षयकोष स्थापना गर्ने उद्देश्यले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रियस्तको शिक्षा आजको आवश्यकता हो भने ।

“हरेक व्यक्तिलाई व्यावसायिक, स्वावलम्बी र आत्मनिर्भर बनाउने शिक्षा आजको आवश्यकता हो । मुलुकको सर्वाङ्गिण विकासका निम्ति अध्ययन–अध्यापन प्रणालीमा सुधार अपरिहार्य छ,” आधुनिक शिक्षाका माध्यमबाट राष्ट्रलाई सबल बनाउनुपर्नेमा जोड दिँदै राष्ट्रपतिले भने । सूचना प्रविधि, विश्वव्यापीकरण र आधुनिकताले ओतप्रोत भएको वर्तमान विश्वपरिवेशअनुसारको शिक्षा नीति र पाठ्यक्रमको विकासमा उहाँले जोड दिए ।

“प्रविधियुक्त प्रतिस्पर्धी तथा गुणस्तरीय पठनपाठन पद्धतिको विकास गरी राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय गुणस्तर अनुरुपको शिक्षा विकास गर्नेतर्फ अबका हाम्रा कदम केन्द्रित हुनुपर्छ”, राष्ट्रपति पौडेलले भने । उनले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न जरुरी भएकाले श्रमको सम्मान गर्ने शिक्षाको विकासमा लाग्न आह्वान गरे ।

राष्ट्रपति पौडेलले राष्ट्रका प्राकृतिक सम्पदाको अधिकतम सदुपयोग गरी कृषिको विकासमा लाग्नुपर्नेमा जोड दिए । उनले जलवायु परिवर्तनका प्रभावबारे गम्भीर हुन आग्रह गरे । साथै उनले स्वदेशमा पौरख गर्न युवा पुस्तालाई अनुरोध गरे ।

राष्ट्रपति पौडेलले समृद्धिका आधार कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास र ऊर्जा उत्पादन भएकाले यी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । उनले पूर्वीय ज्ञान, परम्परा र सभ्यताको केन्द्र नेपाल भएकाले सबैतिर ज्ञानको ज्योति फैलाउन आवश्यक छ भने ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले बहुलता र एकतालाई अङ्गिकार गरेको बताउँदै राष्ट्रपति पौडेलले सवल, समावेशी र उन्नत राष्ट्र निर्माण सबैको साझा दायित्व भएको बताए ।

पाँचथर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख खेमनाथ खतिवडाले घट्दो विद्यार्थी सङ्ख्या र स्रोत साधनको सीमिततालाई ध्यानमा राखेर क्याम्पस सञ्चालनका लागि दिगो अक्षयकोष स्थापना गर्ने उद्देश्यका साथ महायज्ञ आयोजना गरिएको बताए ।

महायज्ञमा भागवत कथा वाचक दीनबन्धु पोखरेल, बौद्ध गुरु खेन्पो फुर्तेम्बा शेर्पा र मुन्धुमका प्रवचनकर्ता चन्द्रकुमार शेर्माले प्रवचन दिनेछन् । हालसम्म १५ हजार विद्यार्थीले उक्त क्याम्पसमा अध्ययन गरिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !