२१ बैशाख २०८१, शुक्रबार

राजा वीरेन्द्र र भुटानका राजा जिग्मेसँगै अध्ययन गरेका थिए केशवकुमार बुढाथोकीले


केशवकुमार बुढाथोकी

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ । झापाको अर्जुनधाराका बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको हो ।

कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँका अनुसार लामो समयदेखि ‘प्रोस्टेट क्यान्सर’को उपचार गराइरहेका उनको गत राति ११ः३० बजे उपचारकै क्रममा विराटनगरको विराट मेडिकल कलेजमा निधन भएको हो ।

अर्जुनधारा नगरपालिका–८ निवासी बुढाथोकी कांग्रेस पार्टीमा जुझारु, जनपक्षीय र साझा नेताका रूपमा परिचित थिए । तत्कालीन पञ्चायतकालमै विसं २०४३ मा जनपक्षीय उम्मेदवार बनेर उनी राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचित भएका थिए ।

यसपछि उनी जलस्रोत राज्यमन्त्री बनेका थिए । उनी विसं २०६४ मा कांग्रेसका तर्फबाट झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने विसंं २०७० मा संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

नेपाली कांग्रेसको सरकार गठन हुँदा उनी सामान्य प्रशासनमन्त्री नियुक्त भएका थिए । जनतामाझ उहाँ निडर र स्पष्ट वक्ता भनेर चिनिन्थे । तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाह र भुटानका तत्कालीन राजा जिग्मे सिग्मे वाङचुकसँगै दार्जिलिङको सेन्ट जोसेफ कलेजमा अध्ययन गरेक नेता बुढाथोकी पाँच दशकदेखि राजनीतिमा सक्रिय थिए । विसं २०२४ मा विद्यार्थी आन्दोलनमार्फत राजनीतिमा प्रवेश गरेका उनी पञ्चायतविरुद्धको आन्दोलनका क्रममा नौ महिना जेल पनि परेका थिए ।

तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाह र भुटानका तत्कालीन राजा जिग्मे सिग्मे वाङचुकसँगै दार्जिलिङको सेन्ट जोसेफ कलेजमा अध्ययन गरेक नेता बुढाथोकी पाँच दशकदेखि राजनीतिमा सक्रिय थिए ।

पञ्चायतकालमा झापा जिल्ला पञ्चायतको सभापति र युवक सङ्गठनको सभापतिसमेत बनेका उनी केही समय पञ्चायतको समर्थक र बहुदलीय प्रजातन्त्रकालमा केही समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा समेत सक्रिय बनेका थिए ।

विगत दुई सातादेखि उनलाई प्रोस्टेटको समस्या जटिल भएपछि विराटनगरमा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । पार्टीभित्र आफ्ना विचार निडर भएर राख्ने र झापाको विकास निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनको निधनले कांग्रेसलाई ठूलो क्षति पुगेको पार्टीका जिल्ला सचिव हुमागाईँले बताए ।

उनको पार्थिव शरीर आज झापा ल्याइने र शवयात्रासहित कनकाई नदीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । उनकी पत्नी गीता बुढाथोकी, दुई छोरा आनन्द र शिशिर एवं दुई छोरी ममता र कविता बुढाथोकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !