२१ बैशाख २०८१, शुक्रबार

लगानी सम्मेलनका लागि नेपालले गृहकार्य गर्नुपर्छ : परराष्ट्रमन्त्री साउद


एनपी साउद

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले आगामी वैशाखमा हुने लगानी सम्मेलनका लागि नेपालले गृहकार्य गर्नुपर्ने बताएका छन् । मन्त्री साउदले नयाँ बानेश्वरस्थित होटल एरेस्टमा शुक्रबार आयोजित ‘अवार्ड फर एक्सेलेन्स’ कार्यक्रमलाई सम्बोधन गर्दै लगानीमैत्री वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याउँदै थप गृहकार्य आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा लगानीमैत्री वातावरण बनाउन आवश्यक छ । आन्तरिक पनि बाह्यरुपमा पनि हामीले लगानीको वातावरण बनाउनुपर्दछ। आन्तरिक रुपमा हाम्रा जति पनि लगानीकर्ताहरु छन्, उनीहरुलाई अझ बढी लगानी गर्न र नेपालमै लगानी गरी प्रतिफल हात पार्न सकिन्छ भन्‍ने सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक छ।’

मन्त्री साउदले आर्थिक कूटनीतिलाई पनि तीव्रता दिनका लागि काम गरिरहेको बताएका छन् । थपे, ‘लगानी सम्मेलनका लागि परराष्ट्रमन्त्रीको हैसियतले आर्थिक कूटनीतिको पाटो महत्वपूर्ण छ र यसका लागि हामीले काम गरिरहेका छौं ।’

उनले विदेशीलाई आकर्षित गर्नका लागि लगानीमैत्री वातावरण बनाउन लगानीसम्बन्धी नीतिमा भएका सुधारहरु देखिने गरी बुझाउन पनि आवश्यक रहेको बताएका छन् । भने, ‘कुनै पनि लगानी सम्मेलन नेपालमा हुनुभन्दा अगाडि हाम्रो लगानी नीतिमा विदेशीलाई आकर्षित गर्नका लागि लगानीमैत्री वातावरण बनाउन के-के सुधार गर्न सक्यौं, त्यो कुरोचाहीँ पहिले प्रस्तुत हुन आवश्यक छ। त्यो काम जति चाँडो हामीले गर्न सक्छौं, त्यो मोडल लिएर हामीले यी-यी कुराहरु गर्न सक्यौं भनेर बाह्य लगानीकर्ताहरुलाई भन्‍नसक्छौं- तपाईंहरु आउनुस्, त्यसको प्रतिफल पनि आफ्नो देशमा सुरक्षित लैजान सक्‍नुहुन्छ।’

मन्त्री साउदले नेपालमा गर्ने लगानी पनि प्रतिफलमुखी हुने, फाइदा हुने र पुन:लगानी गरेर त्यसो नाफालाई आफ्नो देशमा लैजान सुरक्षा दिन सकिन्छ भन्‍ने प्रत्याभूति दिलाउन सक्नुपर्ने बताउका छन् । भने, ‘यो काममा सरकारको मन्त्रिमण्डलको तर्फबाट परराष्ट्रमन्त्रीको तर्फबाट म पनि आफ्नो किसिमले कोशिस गर्छु, लगानी बोर्ड र अन्य निकायहरुले पनि विशेष गरेर लगानी सम्मेलनका लागि काम गरिरहनु भएको छ । लगानीको लगानीमैत्री ढाँचा आइसकेपछि अनि त्यो सम्मेलनको प्रभावकारिता बढ्छ। लगानीमैत्री वातावरण बनाउन सकेनौं भने ‘ठूला’ मान्छेहरु आउँछन्, हात मिलाउँछन् र जान्छन्। हामीले लगानीका क्षेत्रमात्रै पनि पहिल्याउन सकेनौं भने पनि त्यो सम्मेलन रिट्रिट मात्रै हुन्छ, परिणाम हात पार्न सक्दैनौं। यसमा संवेदनशील भएर हेर्नुपर्ने र विचार पुर्‍याउनुपर्ने मैले देखेको छु।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !