२२ बैशाख २०८१, शनिबार

राष्ट्रियसभा निर्वाचन : दाबीविरोध र उजुरीउपर आज र भोलि छानबिन


राष्ट्रियसभा सदस्य निर्वाचन

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुनेछ । सोमबार मनोनयन दर्ता गरेको उम्मेदवारविरुद्ध हिजो मंगलबार दाबीविरोध र उजुरी दिने कार्यतालिका थियो ।

मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध परेका दाबीविरोध र उजुरीमाथि आज र भोलि छानबिन गर्ने निर्वाचन आयोगको कार्यतालिका रहेको हो । हिजो मंगलबार दुई जना उम्मेदवारविरुद्ध उजुरी परेको छ ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपांगता भएका व्यक्तिको समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका दलित समूहका उमेदवार विष्णु बिकविरुद्ध उजुरी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

भट्टविरुद्ध एमालेका उमेदवार रामचन्द्र जोशीले अपांगतासम्बन्धी प्रमाण नपुगेको तथा कर्णाली प्रदेशका माओवादी केन्द्रका उमेदवार बिकविरुद्ध एमालेकै उमेदवार हिक्मत बिकले प्रतिनिधिसभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी दिएका छन् ।

राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचन कार्यतालिका अन्तर्गत सोमबार ५२ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका थिए ।

निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते प्रदान गर्नेछ । यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता रहने छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !