१८ पुस २०८१, बिहीबार

‘सरकारी सञ्चारमाध्यम जनता र राज्यबीचको पुल हुनुपर्छ’


रेखा शर्मा फाइल फोटो

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमले राज्य र जनताका बीचमा पुलको काम गर्नुपर्ने बताएकी छन् । राष्ट्रिय समाचार समिति (रासस) ले आजदेखि प्रारम्भ गरेको अवधि भाषा समाचार सेवाको उद्घाटन गर्दै उनले सञ्चारमाध्यमले सरकारका काम जनतासमक्ष र जनताका समस्या सरकारसमक्ष पुर्याउनुपर्ने बताइन् ।

“सरकारी सञ्चारमाध्यम जनता र राज्यका पुल हुन्, जनताका गुनासा, आशा अपेक्षा सरकारसमक्ष पुर्याउन सक्नुपर्छ, सरकारले गरेका सकारात्मक कामलाई जनताका बीचमा पुर्याउनुपर्छ”, उनले भनिन् । सरकारी सञ्चारमाध्यमको परिभाषा बदल्न जरुरी भएको औँल्याउँदै उनले सञ्चारमाध्यम आमजनताको साझा संरचना बन्न सक्नुपर्ने बताइन् । मातृभाषाका सञ्चारमाध्यमले स्रोत र साधनका सीमितताका बीच प्रभावकारी काम गर्न नसकिरहेको अवस्थामा राससले सञ्चालन गरेको मातृभाषाको समाचार सेवाबाट ठूलो सहयोग मिल्ने विश्वास व्यक्त गरिन् ।

“राससले मातृभाषामा आफ्नो सेवा विस्तार गर्दा संविधानमा भएको सङ्घीयता र समावेशीको मर्मलाई समेत आत्मसात् गरेको ठहरिन्छ । सङ्घीयता र समावेशीता कार्यान्वयन गर्नु सरकारको दायित्व हो । राससले आजदेखि प्रारम्भ गरेको मातृभाषा समाचार सेवालाई सरकारकै कार्यक्रमका रुपमा लिइनुपर्छ”, मन्त्री शर्माले भनिन्, “यसमा सङ्घीय सरकारको मात्र नभई, प्रदेश र स्थानीय तहहरुको दायित्व स्थापित गर्न खोज्नु अझ महत्वपूर्ण छ ।”

राजनीतिक परिवर्तन पछाडि नेपालको समावेशी चरित्र बाह्य जगत्ले अनुकरण गर्न लायक बनेको उल्लेख गर्दै मन्त्री शर्माले राज्यका सबै निकायमा समावेशिताको प्रभाव र असर देखिन थालेको बताइन् । उनले पछिल्लो राजनीतिक परिवर्तनपछि नेपाल वास्तविक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र बनेको पनि स्पष्ट गरिन् ।

“हामीले संविधानमै राष्ट्रको परिभाषा स्पष्ट गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकाङ्क्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भनेका छौँ”– मन्त्री शर्माले भनिन्, “नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुन् ।”

नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने स्पष्ट व्यवस्था संविधानले गरेको स्मरण गराउँदै उनले भाषासम्बन्धी अन्य निर्णय गर्नुपरेमा आवश्यक सिफारिस गर्न भाषा आयोग पनि क्रियाशील रहेकाले अब भाषकै आधारमा कोही उत्पीडनमा परेको महसुस गर्नुनपर्ने बताइन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले भाषा, साहित्यको प्रवद्र्धन, उन्नयनका साथै मातृभाषाको सम्वद्र्धनमा राससको समाचार सेवाले महत्वपूर्ण आयाम थपेको बताए । “धेरै भाषा लोप हुन थालेका छन्, लेखन र बोलचाको अवस्था नरहे भाषा जीवित रहन सक्दैन”, उनले भने, “राज्य सञ्चालित राससबाट मातृभाषामा समाचार सम्प्रेषण गर्नु भाषा सम्वद्र्धनका लागि महत्वपूर्ण काम हो ।”

सचिव राउतले राष्ट्रिय हितको संरक्षण हुने गरी समाचार सामग्री सम्प्रेषण गर्न आग्रह गर्दैैै अन्य राष्ट्रियभाषामा पनि समाचार सम्प्रेषण गर्न सुझाव दिए । त्यसका लागि सहयोग गर्न मन्त्रालय तयार रहेको उनले बताए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले सञ्चार माध्यमको स्वीकार्यता र अपनत्व बढाउन भाषाभाषीका समाचार सामग्री महत्वपूर्ण हुने बताए । उनले मातृभाषमा समाचार अनुवादनमात्र गर्ने नभई ती भाषाभाषीका समस्यालाई उजागार गर्न सम्पादकीय दक्षता अभिवृद्धि गर्नुपर्ने बताए । अध्यक्ष पोखरेलले सूचना पाउने जनताको नैसर्गिक अधिकार भएकाले साना लगानीका सञ्चारमाध्यमलाई राससका समाचार सामग्री निःशुल्क उपलब्ध गराइनुपर्ने बताए ।

नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्षण हुमागाईंले राससले थालनी गरेको मातृभाषाको समाचार सेवाबाट मातृभाषामा सूचना पाउने नागरिकको संविधान प्रदत्त हकलाई सुनिश्चितता गर्न सहयोग मिल्ने बताए । “राससको सेवा विविधीकरणबाट समावेशी सञ्चारमाध्यमको अवधारणालाई बल पुगेको छ”, उनले भने, “यससँगै समाचार सामग्रीको अभावमा मातृभाषाका सञ्चारमाध्यमलाई पनि ठूलो सहयोग मिलेको छ ।”

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले वर्तमान सरकारको नीतिगत फड्कोमा राससले पनि साझेदारी गर्न लागिरहेको उल्लेख गर्दै राष्ट्रिय भाषामा समाचार सेवा प्रारम्भ हुनु राससका लागि ऐतिहासिक भएको बताउनुभयो । “राससले लोकतन्त्र, सङ्घीयता र समावेशीतालाई स्वीकार मात्रै नगरी कार्यान्वयनसमेत गरेको छ”, उनले भने ।

विभिन्न भाषाभाषीको पत्रपत्रिका समाचारमूलक सामग्रीको अभावमा बन्द हुने अवस्थामा पुगिरहेको जनाउँदै अध्यक्ष झाले राससबाट सुरु भएको मातृभाषाको समाचार सेवाले त्यस्ता सञ्चारमाध्यमलाई पुरकको काम गर्ने बताए । उनले अवधि भाषामा समाचार सेवाका लागि सहयोग गरेकामा नेपालगन्ज उपमहानगरपालिकाप्रति आभार व्यक्त गरे ।

राससका महाप्रबन्धक सिद्धराज राईले मातृभाषामा समाचार सेवा सञ्चालनबाट सूचना प्रवाहलाई प्रभावकारी बनाउन सकिने र भाषाको संरक्षण तथा विकासमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । सबै प्रदेशको एउटा भाषाको प्रतिनिधित्व हुने गरी मातृभाषाको समाचार सेवा सञ्चालन गर्ने योजना रहेको जानकारी दिँदै उनले यसका लागि संघीय, प्रदेश र स्थानीय सरकारको सहयोगको अपेक्षा गरिएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !