२१ बैशाख २०८१, शुक्रबार

इजरायलमा रहेका नेपालीलाई ल्याउन परराष्ट्रमन्त्री इजरायल जाँदै


नारायणप्रकाश साउद

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद आज इजरायल जाने भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीलाई ल्याउन मन्त्री साउदलाई पठाउने निर्णय गरेको हो ।

बैठकपछि कानुनमन्त्री धनराज गुरुङले सञ्चारकर्मीसँग भने, “नेपाल आउन चाहने नेपालीहरूलाई लिनका लागि नेपाल एयरलाइन्सबाट परराष्ट्रमन्त्री स्वयं त्यस जाहजमा चढेर जाने र नेपालीहरूलाई लिएर आउने निर्णय भएको छ ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

मन्त्रिपरिषद्को बैठकले हाल इजरायलमा रहेका नेपाली नागरिकले व्यवसायिक रुपमा जहाज चढेर आउन चाहे टिकट भाडा सरकारले व्यहोर्ने निर्णय पनि गरेको मन्त्री गुरूङले बताए ।

त्यसअघि परराष्ट्र मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले जानकारी २८८ जना नेपाली इजरायलबाट फर्किन इच्छुक रहेको जानकारी दिएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !