१९ बैशाख २०८१, बुधबार

एमालेले मात्र समृद्धिको यात्रा पूरा गर्न सक्छ : महासचिव पोखरेल


शङ्कर पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले महासचिव पोखरेलले वर्तमान सरकारले नागरिकका समस्या समाधान गर्न नसकेको बताएका छन् ।

उनले यो सरकारले मुलुकका हरेक क्षेत्रमा सकारात्मक ऊर्जा प्रदान गर्न नसकेको आरोप लगाउँदै सरकारका कारण नै मुलुकको अर्थतन्त्र सङ्कटतर्फ धकेलिएको बताए ।

पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले हालैका दिनमा देशमा मूल्यवृद्धि आकासिएको भए पनि सरकारले महँगी नियन्त्रणमा कुनै प्रभावकारी कदम चाल्न नसकेको बताए ।

महासविच पोखरेलले मुलुकमा आफ्नो पार्टीले एकल बहुमत प्राप्त गरेमा मात्रै समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा हुने तर्क गरे ।

उनले विगतमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले समृद्धि र विकासका लागि निर्वाह गरेको भूमिका राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित भए पनि नेकपाको विभाजन र एमालेविरोधी गठनबन्धनका कारण उक्त यात्रा गन्तव्यमा पुग्न नसकेको उल्लेख गरे ।

महासचिव पोखरेलले एमालेका सबै कमिटी र सङ्गठनले आगामी २०८४ सालमा हुने निर्वाचनलाई लक्ष्य गरेर पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाई समृद्धि र विकासको यात्रालाई पूरा गर्ने बाटोमा लाग्न आह्वान गरे । यस अधिवेशनले ७५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !