२४ पुस २०८१, बुधबार

अब कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्छ : डा. शेखर कोइराला


डा. शेखर कोइराला फाइल फोटो

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बताएका छन् ।

आज शनिबार चितवनमा आयोजित पार्टीको जिल्ला भेलामा उनले अहिले माओवादी केन्द्र नेतृत्वको सरकारमा ९ जना मन्त्री भए पनि त्यसको कुनै अर्थ नरहेको भन्दै उनले कांग्रेसले नै सरकारको नेतृत्व गर्नुपर्ने बताएका हुन् ।

उनले पार्टीविरुद्धको भ्रम चिर्नका लागि अब कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्ने तर्क गरेका हुन् । अहिले कांग्रेस सरकारमा हुँदा पनि कुनै काम गर्न नसकेको उल्लेख गरे । कांग्रेसविरुद्ध पनि विभिन्न भ्रम छर्ने प्रयास भइरहेको उनले बताए । यसलाई चिर्नका लागि अब कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्नेमा उनले जोड दिए ।

उनले देशमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक धार्मिक, कुटनीतिक चारैतिर अराजकता फैलिरहेकोले यसलाई समयमा नै नियन्त्रण गर्न कांग्रेसको नेतृत्वको सरकार आवश्यक भएको दावी गरे ।

नेता कोइरालाले अहिलेको निर्वाचन प्रणालीबाट देशमा कुनै एक पार्टीको मात्रै सरकार बन्न नसक्ने भएकाले प्रत्यक्ष निर्वाचन प्रणाली मात्रै राख्नुपर्ने धारणा राखे । उनले प्रत्यक्ष निर्वाचन प्रणालीका लागि कांग्रेस र एमाले तयार हुने तर माओवादी र अन्य केही दल तत्काल तयार नहुने भएकाले छलफल गरेर एउटा निष्कर्षमा पुग्न सकिने बताए ।

स्थानीय तहको निर्वाचन र आम निर्वाचनमा माओवादीसँग गठबन्धन गर्नु कांग्रेसको भुल भएको कोइरालाले बताए । पछिल्लो समयमा लोकरिझ्याइँको राजनीति हावी हुन थालेको नेता कोइरालाको विश्लेषण रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !