८ जेष्ठ २०८१, मंगलबार

समाजवादी मोर्चाले आज पोखरामा सन्देशसभा गर्दै


समाजवादी मोर्चा सन्देशसभा फाइल फोटो

गण्डकी । समाजवादी मोर्चा नेपालले आज भदौ १५ गते पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्दै छ । पोखरा सभागृहमा हुने सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मोर्चामा आबद्ध विभिन्न दलका शीर्षनेताले सम्बोधन गर्ने जनाइएको छ ।

माओवादी केन्द्रका सचिव एवं गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले सन्देशसभामा प्रधानमन्त्री प्रचण्डसहित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेता सहभागी हुने जानकारी दिए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादका मौलिक विशेषताहरूको पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने प्रतिबद्धताका साथ समाजवादी मोर्चा स्थापना भएको माओवादीका सचिव पौडेलले बताए ।

उनले भने, “सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र, सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायसहितको नेपाली विशेषताको समाजवाद स्थापना गर्ने मूल उद्देश्यले मोर्चा गठन गरिएको हो । मोर्चालाई प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म विस्तार गछौँ ।”

पौडेलका अनुसार प्रधानमन्त्रीलगायत मोर्चाका शीर्षनेता सन्देशसभामा वक्ताका रूपमा उपस्थित रहनेछन् । मोर्चा गठनको उद्देश्यबारे जनसाधारणलाई जानकारी दिने उद्देश्यले सन्देशसभा आयोजना गरिएको हो । पोखरामा हुने कार्यक्रमको व्यवस्थापन गर्ने जिम्मा माओवादी केन्द्रले नै पाएको छ ।

समाजवादी मोर्चाले देशका सातवटै प्रदेशमा सन्देश सभा गर्ने निर्णयअनुसार गण्डकीमा गर्न लागेको हो । मोर्चाले मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सन्देश सभा सम्पन्न गरिसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !