८ जेष्ठ २०८१, मंगलबार

एमसीसीको कार्यान्वयन आजदेखि सुरु हुने, औपचारिक घोषणा हुँदै


एमसीसी

काठमाडौँ । संयुक्त राज्य अमेरिकीको विकास परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को कार्यान्वयनको औपचारिक घोषणा आज हुँदै छ ।

एमसीसीका उपाध्यक्ष क्यामरुन एस. एलफोर्ड एमसीसी कार्यान्वयनको औपचारिक घोषणा गर्न हिजो मंगलबार अपराह्न तीन दिने भ्रमणका लागि काठमाडौं आएका छन् ।

नेपाल सरकार र एमसीसीको संयुक्त लगानीमा निर्माण गरिने ६९.७ करोड अमेरिकी डलर (९२ अर्ब रुपैयाँ) को पूर्वाधार आयोजना तथा कार्यक्रमको कार्यान्वयन आज बुधबारबाट सुरु हुने भएको हो । सम्झौताअनुसार पाँच वर्षमा परियोजना सम्पन्न गर्ने गरी कार्यान्वयनमा जाने समय आज भदौ १३ गते तोकिएको हो ।

आज बुधबार सिंहदबारस्थित अर्थ मन्त्रालयमा नेपाल सरकार र एमसीसीबीच ‘लेटर अफ एक्सचेन्ज’ गरी आयोजना तथा कार्यक्रम कार्यान्वयनको औपचारिक सुरुआत भएको घोषणा गरिने कार्यक्रम रहेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका उपाध्यक्ष क्यामरुनबीच लेटर अफ एक्सचेन्ज हुने मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए–नेपाल) ले जनाएको छ ।

नेपालको नेतृत्वदायी भूमिका रहेको यस एमसीसी सम्झौताको प्रगतिबाट अमेरिकी सरकार उत्साहित भएको अमेरिकी दूतावासले जनाएको छ । नेपालमा एमसीसीको कार्य अवधिभर बृहत्तर सरोकारवाला, नेपालका सरकार र राजनीतिक दलहरूको निरन्तर सहयोगबाट मात्र यो सम्भव भएको दूतावासले जनाएको छ ।

“यस सम्झौताको सफल कार्यान्वयन सुनिश्चित गर्न एमसीए–नेपालसँग साझेदारी गर्न हामी प्रतिबद्ध छौँ । साथै, सम्झौताका लक्ष्य समयमै हासिल गर्न संलग्न सबैले लगनशीलताका साथ काम गरिरहेका छौँ”, दूतावासले उल्लेख गरेको छ ।

आज बुधबारदेखि नेपालमा ऊर्जा र सडक पूर्वाधार विकाससम्बन्धी परियोजनामा पाँच सय मिलियन अमेरिकी डलर अनुदान सहयोग परियोजना एमसीसी सम्झौता कार्यान्वयन गर्ने तयारी छ । एमसीसीले गत वर्ष व्याख्यात्मक घोषणा प्राप्त गरेको उल्लेख गर्दै दूतावासले उक्त व्याख्यात्मक घोषणासँग सहमत रहेको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !