२० बैशाख २०८१, बिहिबार

झण्डै एक महिना सदन खुल्यो, सुन तस्करीको छानबिन गर्न आयोग गठन गरिने


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । लामो समयदेखि अवरुद्ध हुँदै आएको संसद् खुलाउनेबारे दलहरुबीच आज सहमति भएसँगै बैठक अघि बढेको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सुन तस्करी प्रकरणका सम्बन्धमा छानबिन आयोग गठन गर्नेगरी दलहरुबीच सहमति भएसँगै संसद्को गतिरोध पनि अन्त्य भएको बताए ।

“पटक–पटक सुन तस्करी भइरहेको विषयमा स्वतन्त्र र निष्पक्ष रुपमा छानबिन गर्न र यस्ता तस्करीलाई पूर्णरुपमा नियन्त्रण गर्न कानुनमा गर्नुपर्ने परिमार्जन, संरचनात्मक सुधार र यसअघि भएका अनुसन्धानबारे अध्ययन गरी सुझाव दिन जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम आगामी असोज ५ गते आयोग गठन गरी सोही दिनदेखि कार्य प्रारम्भ गर्नेगरी दलहरुबीच सहमति भएको छ”, उनले भने ।

विदेशबाट तस्करी गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएर गत साउन २ गते राजस्व अनुसन्धान विभागले पक्राउ गरेको सुनबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले छानबिन गरिरहेको उपप्रधानमन्त्री खड्काले जानकारी दिए ।

लोकतान्त्रिक विधि र पद्दतिबाट समस्या समाधानका लागि सरकार तयार रहेको उनले बताए । त्यस्तै, संसद् सञ्चालनका लागि प्रतिपक्ष तयार भएकोमा उपप्रधानमन्त्री खड्काले धन्यवाद व्यक्त गर्दै दलहरु छलफल र संवादबाटै सहमतिमा पुगेको उल्लेख गरे ।

“लोकतन्त्रमा विवाद हुन्छ, विवादलाई संवादबाट समाधान गर्छौं र सहमति गरेर अघि बढ्नेकुरा हामीले स्थापित गरेका छौंँ । समस्या पहिचान गर्ने र समाधानको उपाय निकालेर यसैगरी एकताबद्ध भएर अघि बढ्छौं”, उपप्रधानमन्त्री खड्काले भने ।

सहमतिपछि संसद्ले नागरिकसँग जोडिएका विषय र समस्याका विषयमा छलफल गर्दै निकास दिने वातावरण सिर्जना भएको जनाउँदै उनले सङ्घीय कानुन निर्माणलाई चाँडो टुङ्याउन पनि संसद्को सक्रियता आवश्यक पर्नेमा जोड दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !