८ जेष्ठ २०८१, मंगलबार

प्रदेशसभाको बैठक छलेर कोसीकी उपसभामुख दनुवार लागिन् काठमाडौँ


सिर्जना दनुवार फाइल फोटो

विराटनगर । कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार काठमाडौँ लागेकी छिन् । प्रदेशसभाको बैठक छलेर कोसीकी उपसभामुख दनुवार आज बिहान ८ बजेको यति एयरलाइन्सको फ्लाइटबाट काठमाडौँ लागेकी हुन् ।

कोसीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि बोलाएको बैठक छलेर उपसभामुख दनुवार काठमाडौँ लागेकी हुन् । उनले प्रदेशसभा सचिवालयलाई आफू आज बैठकमा उपस्थित हुन नसक्ने जानकारी समेत गराएकी छिन् ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयमा आइतबारका लागि समय माग गरेका थिए । थापाको माग विपरीत उपसभामुख दनुवारले भने आज सोमबारका लागि समय तय गरेकी थिइन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिने बैठकको अध्यक्षता नगर्ने भन्दै उनी काठमाडौँ गएकी हुन् । उनै दनुवारले आज बिहान ८ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाएकी थिइन् ।

एमालेबाट निर्वाचित उपसभामुख दनुवारलाई एमालेले बैठकमा उपस्थित नहुन निर्देशन पनि दिएको थियो । दनुवारले आइतबार बेलुका नै काठमाडौँ जान खोजेपनि ढिलो भएका कारण जहाजको टिकट नपाएकोले आज विहान साढे ८ बजे यति एयरको विमानबाट काठमाडौँ गएकी हुन् ।

उपसभामुखले बैठकको अध्यक्षाता गरेमात्रै मुख्यमन्त्री थापाले विश्वासको मत पाउँछन् । सत्ता गठबन्धनकै सांसदले अध्यक्षता गर्नुपरे विश्वासको मत पाउदैनन् किनभने ९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनसँग कठिन बहुमत ४७ मत मात्रै छ ।

नेकपा एमाले कोसीका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार कांग्रेस सांसद इस्राइल मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएर दनुवार काठमाडौँ गएकी हुन् । मन्सुरीले बैठक सञ्चालन गरे मुख्यमन्त्री थापाले विश्वासको मत पाउदैनन् । जसकारण आजको बैठक नै अनिश्चित बनेको हो ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा रहेको सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन रहेको छ । उनको विपक्षमा एमालेका उपसभामुख बाहेक ३९ र राप्रपाको ६ जना सांसद छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !