९ जेष्ठ २०८१, बुधबार

मन्त्री श्रेष्ठ आफैले कब्जा गरेको गढी प्रहरी चौकी भवन आफैले उद्घाटन गरे


गंगानारायण श्रेष्ठ

सिन्धुली । सिन्धुलीमा गढी प्रहरी चौकीको उद्घाटन गरिएको छ । गोलन्जोर गाउँपालिका वडा नम्बर ५ खनियाखर्कस्थित नवनिर्मित प्रहरी चौकी भवनको बागमती प्रदेसका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले आज एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।

बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको करसहित २ करोड ४९ लाख १३ हजार ३ सय ४३ रुपैयाँ लागतमा भूकम्प प्रतिरोधी सुविधा सम्पन्न प्रहरी चौकी भवन निर्माण सम्पन्न भएको हो ।

प्रहरी चौकी उद्घाटन गर्दै मन्त्री श्रेष्ठले बागमती प्रदेशको विभिन्न जिल्लाहरुमा ५ वटा प्रहरी भवन निर्माणअन्र्तगत सिन्धुलीको फिक्कल गाउँपालिकाको खाङसाङमा प्रहरी चौकी भवन निर्माण प्रक्रिया अघि बढेको बताएका छन् ।

प्रहरी भवन निर्माणको लागि बागममी प्रदेश सकारकारले झण्डै १ अर्ब ११ करोड बराबर लगानी गरिसकेको बताउदै मन्त्री श्रेष्ठले आर्थिक बर्ष २०८०/८१ मा प्रदेश प्रहरी अस्पताल निर्माणको लागि प्रदेशको राजधानी हेटौडामा ३ करोड बजेट बिनियोजन भएको बताए । साथै क्रमागत रुपमा निर्माण भइरहेका २१ वटा प्रहरी चौकी भवन निर्माणको लागि आर्थिक बर्ष २०८०/८१ मा ३० करोडभन्दा बढी बजेट बिनियोजन गरेको जानकारी दिए ।

बागतमी प्रदेशका बिभिन्न जिल्लाको प्रहरी भवनको निरीक्षण गर्दा प्रहरीहरु अहिले पनि जस्तापाताले बेरबार पारेकोे झुप्रोहरुमा बसिरहेको मन्त्री श्रेष्ठको भनाई छ । देशमा आर्थिक संकटको कारण प्रहरी चौकी भवनको आवश्यकता महशुस भएपनि बजेट बिनियोजन गर्न नसकिएको मन्त्री श्रेष्ठले बताए ।

वीपी राजमार्गको चियाबारी–खुर्कोट सडक खण्डमा दिनहुँ दुर्घटना हुने भएकाले उद्धारको लागि सतर्क रहन साथै मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि उच्च सतर्क रहन मन्त्री श्रेष्ठले निर्देशन दिए ।

प्रहरीलाई प्रबिधिमैत्री बनाउँदै लैजान बागमती प्रदेश सकरार प्रतिबद्ध रहेको बताएका छन् । कानुन मन्त्री श्रेष्ठले प्रहरी समायोजन ऐन संसदले पारित गरिसकेर पनि प्रहरी समायोजन नेपाल सरकारले नगरेको भन्दै तुरुन्त प्रहरी समायोजन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

ऐतिहासिक सिन्धुलीगढीमा रहेको प्रहरी चौकी २०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले कब्जा गरेपछि सो चौकी पछिल्लो समयमा खनियाखर्कमा स्थानान्तरण गरिएको थियो । तर चौकीको आफ्नो भौतिक संरचना थिएन । हाल बागमती प्रदेश सरकारको लागतमा गढी प्रशरी चौकी भवन निर्माण भएको हो ।

यसैबिच ऐतिहासिक सिन्धुलीगढीमा रहेको प्रहरी चौकी २०५२ साल फागुन १ गते कब्जा गर्दा कानुन मन्त्री गंगानारायण श्रेष्ठ एक कमाण्डर थिए । संयोग नै मान्नु पर्छ; मन्त्री श्रेष्ठले २०५२ सालमा कब्जा गरेको सोही प्रहरी चौकी पुननिर्माण पश्चात आज उद्घाटन गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !