१४ जेष्ठ २०८१, सोमबार

संसद खुलाउन सकरात्मक ओलीले बोलाए बैठक, प्रधानमन्त्रीले सम्बोधन गर्ने


प्रचण्ड, ओली र देउवा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक छलफल सकिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा संसद गतिरोध हटाउन प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक सकरात्मक भएको छ । एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवासँगको छलफल सकेलगत्तै ओलीले बोलाएको पार्टीको संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनको लोत्सेहलमा जारी रहेको छ ।

संसदको अवरोध खुलाउन एमाले सकारात्मक भएसंगै प्रधानमन्त्री प्रचण्डले संसदमा सम्बोधन गर्ने भएका छन् । प्रचण्डको सचिवालयले सदनको अवरोध खुल्ने सहमति भएको बताएको छ ।

गत बुधबारदेखि सङ्घीय संसदका दुवै सदनको बैठक प्रमुख प्रतिपक्षीलगायतका दलले अवरोध गरेका कारण अगाडि बढ्न सकेको छैन । अवरोधका कारण मिटरब्याज पीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक निष्क्रिय भएको छ ।

नयाँ वानेश्वरस्थित संसद भवनमा प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको हो । हिजो दिउँसो ३ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले स्थगित भएको भन्दै बैठक बस्दै नबसी सूचना टाँसेर आज बस्ने गरी स्थगित गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !