२० बैशाख २०८१, बिहिबार

हिजो स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आज बस्दै


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँवानेश्वरस्थित संसद भवनमा प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको हो ।

हिजो दिउँसो ३ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले स्थगित भएको भन्दै बैठक बस्दै नबसी सूचना टाँसेर आज बस्ने गरी स्थगित गरिएको थियो ।

यसअघि हिजो दिउँसो १ बजेका लागि तय भएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले २ घण्टा पछाडि अर्थात् ३ बजेका लागि सारेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गएको सोमबार एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए । एमालेले प्रचण्डले दिएको उक्त अभिव्यक्तिलाई लिएर बैठक अवरुद्ध गर्दै आएको छ ।

हिजो आइतबार बिहान प्रधानमन्त्री  प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गरेपछि संसद् अवरोध हट्ने भएको भनिएपनि अन्तिममा बैठक सुरु हुने समयमा आएर एमालेले असहमति जनाएको थियो ।

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डको राजीनामा आएपछि मात्रै सहमति जुट्ने ओलीको अडान लिएका थिए । ओलीले प्रधानमन्त्री प्रचण्डका कारण संसद् चल्न नसकेको आरोप समेत लगाएका थिए ।

संसद सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने सम्भावित सम्भावित कार्यसूची रहेको छ ।

यस्तै ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ छलफलका लागि पेस हुने र उक्त विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल, संशोधनलाई निर्णयार्थ प्रस्तुत तथा पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने अन्य सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !