१९ बैशाख २०८१, बुधबार

बागमती प्रदेशसभा : विनियोजित बजेटमाथि छलफल प्रारम्भ


बागमती प्रदेशसभा

मकवानपुर । बागमती प्रदेशसभामा विनियोजित बजेटमाथि छलफल प्रारम्भ भएको छ । आज अपराह्न बसेको बैठकमा सरकारद्वारा प्रस्तुत बजेटमाथिको छलफल शुरु भएको हो ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले बजेटमाथिको छलफलको क्रममा प्रदेशसभाका सदस्यहरूले उठाएको जिज्ञासाप्रति उत्तर दिँदै सरकारले आगामी आव २०८०/८१ का लागि ल्याएको बजेट सन्तुलित र समानुपातिक एवं व्यावहारिक भएको दाबी गरे । बजेट सफलापूर्वक कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै प्रतिपक्षले उठाएका मागलाई सम्बोधन गर्ने बताए ।

मन्त्री लामाले बजेट प्रस्तुतका क्रममा देखिएका केही कमीकमजोरी र अव्यावहारिक पक्षलाई आत्मसमीक्षा गरेर आगाडि बढ्ने जानकारी गराए । उनले प्रतिपक्ष दलहरूले उठाएका मागहरूलाई सरकारले गम्भीरतापूर्वक लिएको र केही समयभित्रै ती मागलाई बजेटको किताबमा समावेश गरिने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री लामाले बजेटले कृषि उत्पादन, गुणस्तरीय शिक्षाको विकास र स्वास्थ्य उपचार सेवालाई गुणात्मकरूपमा प्रदेशको हरेक अस्पताललाई स्तरोन्नति गरी अगाडि बढाउन प्रयास गर्ने उल्लेख गरे । उनले प्रदेश सरकार दलगत स्वार्थभन्दा माथि उठेर प्रदेशको राष्ट्रिय गौरवको आयोजना एवं विपन्न जनतालाई आर्थिक आत्मनिर्भर तुल्याउने र भौतिक पूर्वाधारको विकासलाई सहजीकरण गरी समान व्यवहारका साथ योजनाको बाँडफाँट गरी कार्यान्वयन गर्दै लैजाने सरकारको लक्ष्य रहेको स्पष्ट पारे ।

मन्त्री लामाले आजै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले), प्रतिपक्ष दल राप्रपा र नेमकिपासँग मुख्यमन्त्री र आफू बसेर बजेटको विभेद् हटाएर थप योजनाहरू समावेश गरी क्रमिकरूपमा प्रदेशमा कार्यान्वयन गर्दै लैजाने सहमतिका साथ संसद् अवरोध टुङ्गिएको बताए ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकारद्वारा ल्याएको विनियोजित बजेट अव्यावहारिक र राजनीतिक स्वार्थमा आधारित भएकाले विरोध गरेको स्पष्ट पारे । उनले प्रतिपक्षहरूले उठाएका योजनालाई क्रमशः सरकारले बजेट पुस्तिकामा समावेश गरी कार्यान्वयन गर्दै लैजाने विश्वास गरी आजदेखि प्रदेश सरकार र प्रतिपक्ष दलसँग सहमति भएको उल्लेख गरे ।

राप्रपा संसदीय दलका नेता उद्धव थापाले संसद्लाई नियमित सञ्चालन गरी बजेटलाई पारित गर्नका लागि संशोधन गर्नुपर्ने बताए । उनले सहमति गरेर आवश्यकताअनुसार बजेट कार्यान्वयनमा लैजानुपर्ने तर्क गरे ।

नेमकिपाका सदस्य सृजना सँैजूले सरकारले ल्याएको बजेट सन्तुलित र परिपक्व ढङ्गबाट सार्वजनिक हुन नसकेको भन्दै चिन्ता व्यक्त व्यक्त गरे । उनले प्रदेश सरकार जनताप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिँदै आत्मसमीक्षा गरेर बजेट कार्यान्वयन पक्षलाई दरिलो र प्रभावकारी बनाउन सुझाव दिए ।

उक्त बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री लामाले आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० पेस गरे ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक असार १९ गते मङ्गलबार अपराह्न ३ बजे बस्ने गरी आजको बैठक स्थगित गरे । आजको बैठक बिहान ११ बजे बस्ने कार्यसूची रहेको भए पनि सरकार र प्रतिपक्षको वार्ता लम्बिएपछि ढिला गरी छलफल सुरु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !