२१ बैशाख २०८१, शुक्रबार

ओलीले सरकार ढालेर प्रधानमन्त्री बन्न देउवालाई फकाइरहेका छन् : माधव नेपाल


माधव नेपाल फाइल फोटो

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालेर दलाल पूँजीवादी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फकाइरहेको खुलासा गरेका छन् ।

आज शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढालेर कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन एमालेले चलखेल गरेको आरोप लगाएका हुन् । वर्तमान सरकारलाई हटाएर नयाँ ससरकार बनाउन एमाले आक्रामक तवरले लागेको उनको टिप्पणी थियो ।

सो पार्टीको सम्पर्क विभागले यहाँ आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, “समाजवादी र कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाउनुपर्नेमा सरकार परिवर्तन गर्ने चलखेल गरिरहेका छन्, ठूलो पार्टीले समाजवादी शक्तिलाई एकताबद्ध बनाउन चाहेन, उसले अहिले पनि दललाई प्रभावित पार्न खोजेको छ ।”

कम्युनिष्ट प्रधानमन्त्री प्रचण्डलाई हटाएर कांग्रेस सभापति देउवालाई कुर्सीको अफर गर्न लागेको भन्दै नेपाल एमाले अध्यक्ष ओलीविरुद्ध आक्रामक बने । उनले समाजवादी र कम्युनिष्ट शक्तिहरुलाई एकताबद्ध बनाउनुपर्नेमा ओलीले प्रचण्डलाई ढालेर कांग्रेसलाई सत्ताको नेतृत्व दिन चलखेल गरिरहेको आरोप लगाए ।

उनले कम्युनिस्ट पार्टीका नेताले नै कम्युनिस्ट सरकार ढालेर कांग्रेसलाई प्रधानमन्त्री बनाउन कोसिस गर्नु विडम्बनापूर्ण भएको बताए । समाजवादी मोर्चामा अरू पार्टीलाई पनि आउन आग्रह गरे । उनले मोर्चाबारे ओली बरबराइरहेको बताए ।

अध्यक्ष नेपालले समाजवादी शक्तिलाई एकताबद्ध बनाउने पहल आफूहरूले गर्दा एमालेलाई छटपटी भइरहेको दाबी गरे । उनले भने, “एउटा कम्युनिष्ट पार्टीका नेताले समाजवादी शक्ति बनाउँदा छटपटी भइरहेको छ ।”

उनले समाजवादी मोर्चाको नेतृत्व आफूले गरेको र आफ्नो पार्टीको अस्तित्व तथा शक्तिलाई सबैले स्वीकार गरेको दाबी गर्दै एकीकृत समाजवादीले नै अबको नेतृत्व गर्ने भन्दै प्रतिगमनको दिशामा गएको राजनीतिको कोर्ष आफूले नै बदलेको दाबी गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !