१५ जेष्ठ २०८१, मंगलबार

एमाले र माओवादीवीच हतारमा एकता गरेर अहिले पछुताउनुपर्यो : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा नेकपा एमालेसँग हतारमा एकताको घोषणा गरेर अहिले पछुताउनु परेको टिप्पणी गरेका छन् ।

आज सोमबार राष्ट्रियसभा गृहमा समाजवादी मोर्चा नेपाल घोषणा सभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ६ वर्षअघि एमाले र माओवादीबीच गरिएको एकताको घोषणा हतारमा भएको स्मरण गरेका हुन् ।

प्रचण्डले नेकपा एकता तोडिनुमा कसैलाई दोष नलगाउने बताउँदै उनले बरु एकता किन टिक्न सकेन भनेर गम्भीर आत्मसमीक्षा भने गर्नुपर्ने स्पष्ट पारे । उनले समाजवादसम्म पुग्न आफ्नै पहलमा एमालेसँग एकता भए पनि लामो समय टिकाउन नसक्दा पछुताउने अवस्था आएको बताएका हुन् ।

उनले यसरी नै मोर्चा भएको भए आ-आफ्नो दलको स्वतन्त्रता कायम राख्दै पार्टीगत स्वतन्त्रता उपभोग भएको भए नेकपा विभाजित भएर विघटनको बाटोमा नजाने उनको भनाइ थियो । उनले अहिले बनेको समाजवादी मोर्चामा आवद्ध सबै दलको हैसियत स्वतन्त्र हुने पनि बताएका छन् ।

उनले अन्य बामपन्थी, प्रगतिशील र परिवर्तनकामीहरूलाई मोर्चामा गोलवबद्ध हुन आह्वान गरे । उनले मोर्चामा सबैलाई समेट्ने प्रयास गर्ने पनि बताए । प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति सङ्केत गर्दै मोर्चामा आउन आग्रह पनि गरे ।

प्रचण्डले अहिले शान्ति प्रक्रिया उल्ट्याउने खेल भइरहेको बताउँदै परिवर्तन र संघीयतासहितका उपलब्धि उल्ट्याउन खोज्नेविरुद्ध अब समाजवादी मोर्चा डटेर उभिने पनि बताएका छन् । उनले हिजोको एकता जोगाउन नसक्नुको जिम्मेवारी आफूले पनि लिनुपर्ने भन्दै आफूले हिजोका गल्तीबाट सिकेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !