९ जेष्ठ २०८१, बुधबार

ओलीको प्रश्न : ७० कटेकासँग प्रतिस्पर्धा गरेर पार्टी अध्यक्ष बन्न कसले रोकेको छ ?


केपी शर्मा ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमा ७० वर्षे उमेरहद हटाउने निर्णयबारे स्पष्टीकरण दिंदै ७० वर्ष उमेर कटेकासँग प्रतिस्पर्धा गरेर अध्यक्ष, उपाध्यक्ष र महासचिव बन्न कसैले पनि नरोकेको बताएका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज अखिल नेपाल महिला संघ बागमती प्रदेशको प्रथम सम्मेलनमा बोल्दै उनले उपयोगी नभएकाले आफ्नो पार्टीले ७० वर्षको उमेरहद हटाउने निर्णय गर्नुपरेको स्पष्ट पारेका हुन् ।

उनले ७० वर्ष माथिकाले काम गर्न सक्ने अवस्थामा पनि राजनीति छोडनुपर्ने अप्ठ्यारो अवस्था आएको, कतिपय अन्य पार्टीबाट आएका नेताहरुलाई पनि जिम्मेवारी दिनुपर्ने भएकाले त्यो उमेरहद हटाउने निर्णय गर्नुपरेको बताएका हुन् ।

अध्यक्ष ओलीले चीनलगायतका दुनियाँका सबै पार्टीहरुले परित्याग गरिसकेको ७० वर्षे उमेरहद हटाउने निर्णय एमालेले गर्दा त्यसको विरोध गर्न आवश्यक नभएको बताए । उनले पार्टीका युवाहरूलाई ७० वर्ष कटेकाहरूसँग प्रतिस्पर्धा गरेर महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव बन्न कसले रोकेको छ ? भनेर प्रश्न समेत गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !