२३ बैशाख २०८१, आइतबार

शरणार्थी प्रकरण : आज सरकारी वकिलको जवाफी बहस र न्यायाधीशको आदेश


बालकृष्ण खाँण र टोपबहादुर रायमाझी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजबाट जवाफी बहस सुरु हुने भएको छ । सो प्रकरणमा पक्राउ परेका १८ जना आरोपीको तर्फबाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गर्ने भएका हुन् ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चार जना अधिवक्ताले आज जवाफी बहस गर्नेछन् । जवाफी बहस शुक्रबार दिउँसो २ बजेभित्र नै सक्न जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले इजलासबाटै निर्देशन दिइसकेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्वित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जनासँग अदालतका न्यायाधीश न्यौपानेलगायतले बयान लिएका थिए ।

उनीविरुद्ध ठगी, राज्यविरुद्ध कसुर, संगठित अपराध, लिखत किर्ते र एकीकृत कसुरमा मुद्दा दर्ता गरिएको छ । जवाफी बहस सकेपछि धरौटीमा थुनामुक्त हुने वा थुनामा पठाउने भन्ने आदेश अदालतले दिने छ । बहस सकेपछि समय पुगेमा आजै साँझसम्म थुनछेक आदेश आउन सक्ने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !