१२ पुस २०८१, शुक्रबार

‘अखण्ड भारत’को नक्साबारे नेपाल र बंगलादेशले कुरा बुझिसके, अब विवाद गर्दैनन् : भारतीय विदेशमन्त्री


एस जयशंकर र अखण्ड भारत

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले ‘अखण्ड भारत’को नक्साबारे दुई छिमेकी मुलुक नेपाल र बंगलादेशले कुरा बुझिसकेकोले अब दुई देशले विवाद नगर्ने स्पष्टीकरण दिएका छन् ।

प्रधानमन्त्रीको रुपमा नरेन्द्र मोदीले देशको नेतृत्व गरेको ९ वर्ष पुगेको अवसरमा विदेश नीतिको प्रगतिबारे आज बिहीबार पत्रकारहरुसँग गरिएको विशेष ब्रिफिङका क्रममा भारतीय विदेशमन्त्री जयशंकरले ‘अखण्ड भारत’ नक्साका विषयमा नेपाल र बंगालादेशमा विवाद नरहेको दाबी गरेका हुन् ।

उक्त नक्साको मुनि अशोका इम्पायरका बेलाको विवरण लेखिएको केवल सांस्कृतिक कुरा मात्रै भएको बताए । यसलाई राजनीतिक विषय बनाउनु जरुरी नै नभएको भन्दै उनले मित्रराष्ट्रहरु नेपाल र बंगलादेशले अब विवाद नगर्ने जिकिर गरे । जयशंकरले यो नक्सा सम्राट अशोकको समयको सांस्कृतिक प्रतीक मात्रै भएको व्याख्या गरे ।

गत जेठ १४ गते प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’ को भित्तेचित्रमा नेपालको लुम्बिनी र कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्र समेटिएको छ । उक्त नक्सामा नेपाल, बंगलादेश, पाकिस्तान र अफगानिस्तानसम्मका केही भू-भागसमेत समेटिएको छ ।

भारतले जारी गरेको उक्त नक्साको विषयलाई लिएर नेपाल र बंगलादेशमा विरोध भइरहेको बेलामा भारतीय विदेशमन्त्री जयशंकरले सो विषयमा नेपाल र बंगलादेशलाई स्पष्ट पारिसकिएको दावी गरेका हुन् । उनले यो खाली सरकारको मात्रै नभएर पूरै देश र संसदको स्ट्यान्ड भएकोले यसमा परिवर्तन गर्नेको कोही सम्भावना नभएको पनि बताए ।

भारतले नयाँ संसद भवनमा राखेको अखण्ड भारतको नक्सालाई लिएर नेपालको संसदमा चर्को विरोध भइरहेको छ । नेपाल र बंगलादेशले विवाद नगर्ने दाबी भारतीय विदेशमन्त्रीले बताएसंगै के नेपाल सरकारले उक्त नक्सा स्वीकार गरेको हो ? भने प्रश्नचिन्ह उब्जिएको छ ।

पत्रकारहरुले ‘अखण्ड भारत’नक्सालाई लिएर नेपाल र बंगालादेशमा विभिन्न प्रतिक्रिया आइरहेकोमा औपचारिक धारणा माग गरेका थिए । उक्त ब्रिफिङका क्रममा पत्रकारहरुले नेपाल र बंगलादेशलाई मित्रराष्ट्र र पाकिस्तानलाई शत्रुराष्ट्रका रुपमा चित्रित गर्दै प्रश्न गरेका थिए । उनले यस मामलामा पाकिस्तानले बुझ्ने छ भन्ने आशासमेत नभएको बताए ।

यो पनि पढ्नुहोस्

ग्रेटर नेपालको नक्सा : बालेनले राखिसके, गगन भन्दैछन् राख्नुपर्छ

नेपालले पनि ‘ग्रेटर नेपाल’काे नक्सा जारी गर्नुपर्छ : महामन्त्री थापा

‘अखण्ड भारत’ भन्दै लुम्बिनी र कपिलवस्तु भित्तेचित्रमा राखेकोमा बाबुरामको आपत्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !