३१ असार २०८१, सोमबार

‘अखण्ड भारत’ भन्दै लुम्बिनी र कपिलवस्तु भित्तेचित्रमा राखेकोमा बाबुरामको आपत्ति


डा. बाबुराम भट्टराई र भारतीय संसदको भित्तेचित्र

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी केन्द्रका अध्यक्ष डा. बाबुराम भट्टराईले ‘अखण्ड भारत’ भन्दै भारतीय संसदको भित्तेचित्रमा नेपालको भू-भाग लुम्बिनी र कपिलवस्तु राखेकोमा आपत्ति जनाएका छन् ।

आज मंगलबार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले ‘अखण्ड भारत’ को विवादास्पद भित्तेचित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानीकारक कूटनीतिक विवाद निम्त्याउन सक्ने चेतावनी दिंदै मुख खोलेका हुन् ।

उनले भारतको यो कदमले उसका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई पहिले नै बिगार्ने विश्वासको घाटालाई अझ बढाउने सम्भावना रहेको संकेत समेत गरेका छन् ।

भर्खरै उद्घाटन गरिएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’ को भित्तेचित्रमा नेपालको लुम्बिनी र कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्र समेटिएको छ । नेपालको भूमि कपिलवस्तु र लुम्बिनीलाई पनि भारतीय भूमि जस्तै गरी अंकित गरेपछि भट्टराईले चासो व्यक्त गर्दै आपत्ति प्रकट गरेका हुन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद भवनमा ‘अखंड भारत’ को विवादास्पद भित्ते चित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ, यसले भारतका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई पहिले नै बिगार्ने विश्वासको घाटालाई अझ बढाउने सम्भावना छ,’ उनले भने ।

नेपाल र भारतका प्रधानमन्त्रीलाई ट्विटरमा मेन्सन गर्दै उनले भारतीय राजनीतिक नेतृत्वले यस भित्तिचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै खोलेर सञ्चार गर्नु बुद्धिमानी हुने बताएका छन् । उनले लेखेका छन्, ‘भारतीय राजनीतिक नेतृत्वले यस भित्तिचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै खोलेर स्पष्ट पार्नु बुद्धिमानी हुन्छ ।’

यस्तो छ भारतीय संसदमा राखिएको भित्तेचित्र

भारतीय संसदमा राखिएको भित्तेचित्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !