५ जेष्ठ २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्ड चारदिने भारत भ्रमणको लागि दिल्ली प्रस्थान


प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत प्रस्थान गरेका छन् । भारतको चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड आज दिउँसो भारत प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विमानबाट त्रिभुवन विमानस्थलबाट भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका हुन् । प्रधानमन्त्री दाहाल मध्याह्न १३ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नम्बर आरए २१७ बाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आज जेठ १७ देखि २० गतेसम्म (मे ३१ देखि जुन ३ तारिख) छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा गएका हुन् । प्रधानमन्त्री प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भ्रमणमा गएका हुन् ।

उनीसँग भ्रमणमा नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी भएका छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा अरु ५ जना मन्त्री, मुख्यसचिव र ८ जना सचिवसहित झण्डै १२० जना रहेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, विशिष्ट कर्मचारी, संवैधानिक आयोगका प्रतिनिधिलगायत विशिष्ट पदाधिकारीले बिदाइ गरेका छन् । सो अवसरमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यसैगरी प्रधानमन्त्री दाहालले भोलि जेठ १८ गते भारतका प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् ।

यस भ्रमणले नेपाल र भारतबीचको सदियौँ पुरानो, बहुआयामिक र सौहार्द्रपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ । गत मङ्सिरमा सम्पन्न निर्वाचनपछि प्रधानमन्त्री भएपछि प्रचण्डको यो पहिलो औपचारिक भारत भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

प्रधानमन्त्रीका रुपमा दाहालको यो चौथो भारत भ्रमण हो । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण पुरा गरी यही जेठ २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !