२४ बैशाख २०८१, सोमबार

संसदमा ओलीलाई विश्वप्रकाशले भने – हामी न्यायाधीश होइनौँ


विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष फसाउन खोजियो भन्ने भनाईप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद शर्माले ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउन खोजिएको भन्ने उक्त भनाईप्रति आपत्ति जनाउँदै दोषी र निर्दोषी भनेर फैसला सुनाउन आफूहरु न्यायाधीश नभएको कटाक्ष गरेका हुन् ।

उनले मुलुकको आर्थिक चुनौतीलाई पार लगाउन सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए । शर्माले भने, “हिजो परिवर्तनका लागि एक ठाउँमा उभिएका राजनीतिक दलहरू आजको आर्थिक चुनौतीलाई पार लगाउन एक ठाउँ उभिन जरुरी छ । गणतन्त्र १५ वर्ष पुग्दै गर्दा आत्मसमीक्षा गरेर हामीले यसलाई आत्मसाथ गर्नुपर्छ।”

उनले नीति तथा कार्यक्रमले नागरिकलाई केन्द्रमा राख्नुपर्ने बताए । “भौतिक प्रगतिको रटानले मात्रै हामीलाई भ्यूटावर खडा गर्न उस्काउँछ तर मान्छे बिर्साउँछ । भ्यूटावरका लागि रु डेढ अर्ब छुट्याउँदै गर्दा धनुषामा डेढ सय रुपैयाँको स्लाइनपानी लाउनसमेत नपाएर राजु सदाको मृत्यु भइरहेको छ”, उनले भने ।

सांसद शर्माले २००७ सालदेखिकै भ्रष्टाचारका फाइल खोली अनुसन्धान सुरु गर्नुपर्ने धारणा राखे । सांसद शर्माले झापाको दमकमा रहेको सुकुम्बासीको समस्या समाधान गर्न आग्रह गरे । उनले सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउन मागसमेत गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !