१० जेष्ठ २०८१, बिहिबार

भ्रष्टाचारविरोधी आन्दोलनमा हाम फालियो, कतिबेला मारिने हो थाहा छैन : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरोधी आन्दोलनमा हाम फालिएकोले कतिबेला मारिने भन्ने थाहा नभएको अभिव्यक्ति दिएका छन् ।

काठमाडौँको शङ्खरापुरमा आज आयोजित प्रेस सेन्टर नेपालको १९औँ साधारणसभा तथा २१औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्ध जस्तै भ्रष्टाचारविरुद्धको लडाइँमा हाम फालेकोले धेरै जोखिम रहेको स्पष्ट पारेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरोधी लडाइँ पनि जनयुद्ध जस्तै भएकोले कतिबेला घेराबन्दीमा परिने हो, कतिबेला दुश्मनबाट मारिने हो भन्ने ठेगान नभएको बताएका हुन् । उनले जतिसुकै ठुलो घेराबन्दी भए पनि विकृति र भ्रष्टाचारविरुद्ध लड्नुको विकल्प नभएको बताएका छन् ।

उनले मुलुकमा बेथिति र विकृतिका विरुद्ध लड्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री दाहालले भने, “भ्रष्टाचार र विकृतिका विरुद्धमा जनतामा एउटा नयाँ आन्दोलन, संस्कारको सुरुआत हुन थालेको महसुस हुँदैछ । यो युद्धमा मैले पनि हाम फालेको छु । अपमानित र घेराबन्दी गर्ने काम भइरहे पनि त्यसलाई छिचोल्दै यो भूमिकामा आइएको छ । हामीसित चुनौती र अवसर दुवै छन् ।”

थुप्रै अप्ठ्यारा एवम् जटिलताबाट देश निर्माण हुने उनको भनाइ छ । माओवादीले खेलेको भूमिका र आन्दोलनको इतिहासले विकास गरेको नेतृत्वका कारण आज देशको नेतृत्व गर्न सम्भव भएको प्रधानमन्त्री दाहालले बताए । विचार, वर्ग, राष्ट्र निर्माणका निम्ति सङ्कल्प लिएर अगाडि बढेको उल्लेख गर्दै उहाँले अब ठूलाठूला एक्सन हुने र त्यसको तरङ्ग पनि ठूलै जाने बताए ।

नीति तथा कार्यक्रम पारित गर्नुपर्ने र नागरिकता लगायतका विषयको टुङ्गो लगाउनुपर्ने जिकिर गर्दै प्रधानमन्त्री दाहालले कस्तो जनमत बनाउने भन्ने कुरा प्रेस सेन्टर नेपालको काँधमा रहेको र यसका लागि स्वयम्सेवकका रुपमा नेतृत्वलाई साथ दिन आग्रह गरे । उनले शङ्खरापुरको विकास गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

स्व. कृष्ण सेन ‘इच्छुक’को योगदानको स्मरण गर्दै प्रधानमन्त्री दाहालले सेन बहुआयमिक व्यक्तित्वको धनी र निष्ठावान् व्यक्ति भएको तथा क्रान्तिकारी विचारको पक्षमा रहने एउटा साहित्यिक स्रष्टा नेपाल समाजको प्रेरणाको स्रोत भएको बताए ।

साधारणसभामा प्रेस सेन्टर नेपालका संस्थापक सदस्य, जनप्रतिनिधिमा निर्वाचित सेन्टरका केन्द्रीय सदस्य, घाइते, बेपत्ता, द्वन्द्वपीडित र पत्रकार तथा उत्कृष्ट शाखालाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !