२२ बैशाख २०८१, शनिबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता


बालकृष्ण खाँण र टोपबहादुर रायमाझी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध आज जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

उक्त प्रकरणमा पूर्वमन्त्री, सचिवसहितका पक्राउ परेका १६ जना र फरार रहेका अन्य १४ जना गरी ३० जनाविरुद्ध विभिन्न पाँचवटा कसुरमा मुद्दा दर्ता गरिएको हो । उनीविरुद्ध ठगी, राज्यविरुद्ध कसुर, संगठित अपराध, लिखत किर्ते र एकीकृत कसुरमा मुद्दा दर्ता गरिएको हो ।

अभियोजनका लागि गठित आठ सदस्यीय समितिले सोमबार प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजनपत्र तयार गरिएको हो ।जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी गरेको घटनाको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।

शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, नेकपा (एमाले)का निलम्बित सचिव पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव (निलम्वित सचिव) टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !