२१ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभामा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु


प्रतिनिधिसभाको बैठक

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको हो ।

संसद सचिवालयका अनुसार आजको बैठकमा गत शुक्रवार सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि सांसदहरुले आ-आफ्नो धारणा राख्न कार्यसूची रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न जेठ ७, ८, ९, १० र ११ गतेका दिनहरु तोकिएको संसद सचिवालयले जनाएको छ ।

आज बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘सम्माननीय राष्ट्रपति महोदयले २०८० जेठ ५ गते शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आव २०८०/०८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने पहिलो सम्भावित कार्यसूची रहेको छ ।

यस्तै आजको बैठकमा आव २०८०/०८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमबारे सदस्यहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनका विषयमा छलफल गरिने दोस्रो सम्भावित कार्यसूची रहेको छ ।

सरकारको नीति तथा कार्यक्रममाथि ११ गतेसम्म सांसदहरूले धारणा राख्ने छन् । प्रतिनिधिसभाका सांसदहरूले धारणा राखिसके पछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिने कार्यसूची तय भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !