२० बैशाख २०८१, बिहिबार

पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान आज पनि जारी


बालकृष्ण खाँण

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणको बयान आज पनि जारी रहेको छ । बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा पूर्वगृहमन्त्री खाँणको बयान आज पनि जारी रहेको हो ।

हिजो सोमबार पनि खाँणको बयान लिइएको थियो । तर बयानको क्रममा उनले आफ्नो स्वास्थ्य अवस्था ठीक नभएको बताएपछि बाँकी बयान आज लिएको हो ।

सो प्रकरणमा मुछिए पनि खाणले ‘मोबाइल फरम्याट’ गरेको तथा सो मोबाइलको ‘डाटा रिकभर’ हुनका लागि समय लागे पछि सोमबारबाट मात्रै उनको बयान सुरु गरिएको प्रहरीले जनाएको छ ।

खाँणलाई गत वैशाख २७ गते बिहान प्रहरीले काठमाडौंको चावहिलको मैजुबहालस्थित निजी निवासबाट पक्राउ गरेको थियो । नक्कली शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौँको रकम ठगी गरेको घटनामा जोडिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

खाँणलाई आफू मन्त्री भएको समयमा भुटानी शरणार्थी प्रमाणीकरण तथा तेस्रो देशमा पुनःस्थापनाका लागि बनेको कार्यदलको सक्कली प्रतिवेदन गायव पारेको र नक्कली प्रतिवेदन कार्यान्वयन गरेवापत लाभ लिएको आरोप लागेको छ भने उनले आफ्नो संलग्नता नरहेको भन्दै उक्त आरोपको अस्वीकार गर्दै आएका छन् ।

सोही प्रकरणमा फरार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आइतबार साँझ पक्राउ परिसकेका छन् । रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न हिजो जिल्ला अदालत काठमाडौँले अनुमति दिएलगत्तै सरकारी वकिलको कार्यालय उनको बयान लिइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !