२१ बैशाख २०८१, शुक्रबार

अध्यक्ष तिमिल्सिना र भियतनामीका पूर्व गृहमन्त्रीबीच भेटवार्ता


गणेशप्रसाद तिमिल्सिना र एचआर ट्रान आन तुआन

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र भियतनामका पूर्व गृहमन्त्री एवं नेपाल भियतनाम मैत्री संघका अध्यक्ष एचआर ट्रान आन तुआनबीच शिष्टचार भेटघाट भएको छ ।

अध्यक्ष तिमिल्सिना र भियतनामी प्रतिनिधि मण्डलको नेतृत्व गरेर नेपाल आएको टोलीका नेता पुर्व गृहमन्त्री तुआनबीच अध्यक्ष निवास बालुवाटारमा सोमबार बिहान शिष्टाचार भेटघाट भएको हो ।

भेटघाटका क्रममा आपसी सहयोग र पर्यटन विकासका क्षेत्रमा सहयोग आदान-प्रदान गनेै बिषयमा छलफल भएको अध्यक्ष तिमिल्सिनाका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले बताए ।

भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशहरुबीच रहेका सांस्कृतिक र ऐतिहासिक समानतालाई जोड दिदैँ दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन बौद्ध धर्मले बिशेष भूमिका खेलेको बताए । बौद्ध जन्मस्थल लुम्बिनीको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमार्फत नेपाल–भियतनाम सीधा हवाई सम्पर्क स्थापना गर्न सकेमा अझै जनस्तरको सम्बन्ध विकास हुने विश्वास पनि व्यक्त गरे ।

अध्यक्ष तिमिल्सिनाले व्यापार, पर्यटन र लगानीको क्षेत्रलाई प्राथमिकतामा राख्दै दुई देशबीचको द्विपक्षिय सम्बन्धलाई अझ प्रगाढ बनाउन आवश्यक रहेको बताउदै दुबै देशका बीचमा रहेको ब्यापार घाटा घटाउन आवश्यक पहल गर्न पनि आग्रह गरे ।

नेपालले भियतनामबाट मसला (मरिच), ताजा तथा सुकाइएका फलफुल, माछा, मासु आयात गर्छ भने नेपालले भियतनामतर्फ मासु र कुकुर र विरालोको खाना निर्यात गर्दै आएको छ । अध्यक्ष तिमिल्सिनाले भियतनामले तीन दशक अघि लागु गरिएका आर्थिक सुधारका कदमहरुको फलस्वरुप भियतनामले हासिल गरेको उच्च आर्थिक वृद्धिप्रति खुसी पनि व्यक्त गरे ।

सो भेटमा पुर्वगृहमन्त्री तुआनले बुद्धको जन्मस्थल लुम्विनी धेरै भियतनामीका लागि पवित्रस्थलको रुपमा रहेको उल्लेख गर्दै सिधा हवाईसेवा सुचारु गर्न तथा ब्यापार घाटा घटाउनका लागि पनि पहल गर्ने बताएका थिए ।

गणेशप्रसाद तिमिल्सिना र एचआर ट्रान आन तुआन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !