२१ बैशाख २०८१, शुक्रबार

मानव सेवाका कामलाई निरन्तरता दिन सरकारको साथ रहन्छ : उपप्रधानमन्त्री श्रेष्ठ


नारायणकाजी श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहयोगापेक्षी सडक आश्रित मानवलाई अभिभावकत्व प्रदान गर्ने र आश्रय दिने मानव सेवाको अभियानलाई सफल पार्न सरकरका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौँको नागार्जुन नगरपालिका–१ स्थित मानव सेवा आश्रमको अवलोकन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवाका कामलाई निरन्तरताका साथ अगाडि बढाउन सरकारका तर्फबाट साथ रहने प्रतिबद्धता व्यक्त गरे । उनले आश्रमलाई जीवित राख्न, सञ्चालनमा ल्याइराख्न र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल बनाउने प्रक्रियालाई अगाडि बढाउन सरकारले सम्पूर्ण प्रयत्न गर्ने विश्वास दिलाएका छन् ।

“जसरी तपाईँहरूले काम व्यवहारद्वारा आफूलाई नयाँ खालको नागरिकको पहिचान बनाउनुभएको छ, कामद्वारा मानव सेवाको उद्देश्यलाई सफल पार्न सहयोग पुर्याउन चाहन्छु”, उनले भने ।

मानव सेवा आश्रमलाई सरकारबाट हुनसक्ने सहयोगका लागि आजै आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए । प्रधानमन्त्री स्वयं पनि देशमा भइरहेका राम्रा कामलाई आत्मसात् गरेर जाने अभियानका साथ अगाडि बढिरहेको उल्लेख गर्दै उनले राम्रा कामलाई सरकारले पनि सहयोग गर्नुपर्छ भन्ने दृष्टिकोण राखेको बताए ।

“नेपालमा पनि यस्ता संस्था छन्, जो सम्पूर्णरूपले मानव सेवामा समर्पित भएको देख्न पाउँदा गौरव महसुस गरेको छु”, उनले भने । आफ्नो जीवनमा एउटा मात्र उद्देश्य मानव सेवा बनाएर अगाडि बढ्न उपभोक्तावादले ग्रस्त आजको समाजमा सजिलो काम नभएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा निकै महान काम भएको बताए ।

वरिष्ठ पत्रकार राजेन्द्र बानियाँले असहाय नागरिकका लागि राज्यले निर्वाह गर्नुपर्ने दायत्वि मानव सेवा आश्रमले पूरा गरिरहेको बताए । “नागरिकका लागि राज्यले गर्नुपर्ने काममा मानव सेवा आश्रमले सहयोगी भूमिका निर्वाह गरिरहेको छ”, उनले भने ।

विसं २०८२ भित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल निर्माण गर्ने उद्देश्यका साथ आश्रम अगाडि बढिरहेको छ । अहिले देशका विभिन्न स्थानमा रहेका मानव सेवा आश्रममा करिब एक हजार छ सय असहाय नागरिकले आश्रय लिइरहेका छन् । अझै झण्डै चार सयको सङ्ख्यामा सहयोगापेक्षी सडक आश्रित मानव रहेका अनुमान गरिएको छ ।

आश्रमका अध्यक्ष रामजी दाहालले कसैले पनि असहाय भएर सडकपेटी र सार्वजनिकस्थलमा बस्न नपर्ने राष्ट्र निर्माणका लागि सरकारको सहयोगी बनेर आश्रमले काम गरिरहेको बताए । सो लक्ष्य हासिल गर्न तीनै तहका सरकारबाट सहयोगको अपेक्षा गरिएको उहाँ बताउछन् ।

‘मानव सेवा आश्रम’ले १९ जिल्लामा २३ आश्रम सञ्चालन गरिरहेको छ । मानव सेवाले असहायलाई आश्रय दिने मात्र होइन, अभिभावकत्व, पालन र स्याहारसुसार समेत गरिरहेको छ । आश्रम १० वर्षदेखि सञ्चालित छ । सो अवधिमा सात हजार चार सय ३६ जनालाई सेवा प्रदान गरेको बताइएको छ ।

अहिले मकवानपुर, झापा, मोरङ, सर्लाही, धनुषा, पर्सा, चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर, रुपन्देही, दाङ, बाँके, कास्की, लमजुङ, गोरखा, बागलुङ, सुर्खेत र कैलालीमा आश्रम सञ्चालनमा छन् । हालसम्म विभिन्न १३ स्थान सहयोगापेक्षी सडक आश्रित मानवमुक्त क्षेत्र घोषणा भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !