२२ बैशाख २०८१, शनिबार

पार्टीलाई नयाँ ढंगबाट लैजानुपर्दछ : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ ढङ्गबाट पार्टीलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

एमाले काठमाडौँ महानगरपालिका कमिटीद्वारा आयोजित मिसन ग्रासरुट अभियान सम्मान तथा प्रशिक्षण कार्यक्रममा उनले पार्टीलाई नयाँ ढङ्गबाट शुद्धीकरण गर्दै एकताबद्ध बनाउनुपर्नेमा जोड दिए ।

एमालेको मजबुत सङ्गठनलाई पुनर्ताजगीका साथ एकताबद्ध बनाउन आवश्यक रहेको उनको भनाइ छ । उनले पार्टी सुदृढ, शुद्ध, एकीकृत र गतिशील हुनुपर्ने बताए । “यो पक्षलाई भाग, ऊ पक्षलाई भाग पार्टीभित्र हुँदैन । योग्यता, क्षमता, सक्रियता, योगदानले हेरेर पार्टीले जिम्मेवार दिन्छ”, उनले भने ।

अध्यक्ष ओलीले सङ्गठन सुदृढीकरणका लागि सञ्चालन भएको ग्रासरुट अभियान अझ नपुगेको र यसलाई निरन्तरता दिनुपर्ने बताए । “अझ संयमित ढङ्गले कमिटी निर्माण, परिचालन, सदस्यता नवीकरण र नयाँ सदस्यता प्रदान गर्नुपर्दछ”, उनले भने ।

उनले एमाले कुनै ठाउँमा नेता तथा कार्यकर्ता नपुगेर कमजोर रहेको भनाइ राखे । सर्वाधिक जनताले मन पराएकाले प्रमुख शक्ति एमाले रहे पनि एमाले सुदृढ भएका ठाउँमा कोही पनि साथीले जित्न नसकेको उनको थियो ।

एमाले कार्यकर्ता इमान, निष्ठा र आदर्शको पक्षमा रहेको भन्दै अध्यक्ष ओलीले भने, “एमाले कार्यकर्ता बेइमान हुँदैनन् । बेइमान छ भने त्यो एमाले कार्यकर्ता होइन ।” नयाँ पुस्तालाई विभिन्न सङ्गठनमार्फत उत्तराधिकारीका रूपमा पार्टीमा ल्याउनुपर्ने उहाँले बताए ।

कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेमाथि चौतर्फी आक्रमण भइरहेको बेला अझ एकताबद्ध हुनुुपर्ने बताए ।

“अहिले एमालेभित्र यो चित्त बुझेन, उ चित्त बुझेन, माथि चित्त बुझेन, तल चित्त बुझेन भनेर बस्ने बेला होइन”, उनले भने, “एमालेलाई एकताबद्ध बनाउने, असझदारी छ भने दूर गर्दै पार्टीलाई नयाँ ढङ्गबाट लैजानुपर्दछ ।” उनले नयाँ युवा साथीलाई पार्टीको जिम्मेवारी दिनुपर्ने भनाइ राखे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !