१३ आश्विन २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्डले बोलाए संवैधानिक परिषदको बैठक


प्रधानमन्त्री प्रचण्ड फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक परिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नका लागि संवैधानिक परिषदको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आगामी शुक्रबार बिहान ९ बजे सिंहदरबारमा बस्ने गरी संवैधानिक परिषदको बैठक बोलाएको उनको सचिवालय जनाएको छ ।

यो बैठकले सम्भवत: प्रधानन्यायाधीश नियुक्ति गर्न सिफारिस गर्ने छ । गत पुस ११ गते प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले पहिलोपटक संवैधानिक परिषद्को बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य रहेका छन् ।

प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्नका लागि बस्ने संवैधानिक परिषदको बैठकमा भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सदस्य रहने ब्यबस्था भएपनि अहिले कानुनमन्त्री पद पनि रिक्त रहेको छ ।

चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २०७९ साल मंसीर २७ गतेदेखि प्रधानन्यायाधीश पद रिक्त रहेको छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की रहेका छन् ।

आज सोमबार एमाले अध्यक्ष ओलीको निजी निवास बलकोटमा बसेको प्रमुख तीन राजनीतिक दल र सभामुखसहितको बैठकमा प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद् बैठक बोलाउन दलहरुबीच सहमति भएको थियो ।

यो पनि पढ्नुहोस्

संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गर्ने

एउटै गाडी चढेर ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड र देउवा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु