२१ बैशाख २०८१, शुक्रबार

टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने तीन दलमा सहमति


प्रचण्ड, ओली, देउवा र घिमिरे

काठमाडौँ । बालुवाटारस्थित सभामुख निवासमा बसेको प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन दलका शीर्षनेताको बैठक सभामुख देवराज घिमिरेको बालुवाटारस्थित निवासमा बसेको बैठक सकिएको हो ।

आज बसेको बैठकमा टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले नेपालपत्रलाई जानकारी दिए । साथै विषय र प्रक्रियामा पुनः छलफल हुनेछ । संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुंगो लगाउन नेताहरु सहमत भएका हुन् ।

मुलुकको राजनीतिक परिवर्तनमा एकताबद्ध भएका प्रमुख राजनीतिक दल सङ्क्रमणकालीन न्यायको विषयलाई निष्कर्षमा पुर्याउने विषयमा पछिल्लो समय बैठकहरूमा जुटेका हुन् ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी थिए ।

यस्तै बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने, महान्यायाधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडालको पनि सहभागिता थिए ।

गत शनिबार सभामुख देवराज घिमिरेले तीन दलका शीर्षनेतासँग सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल गरेका थिए । अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरवारमा बस्ने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !