२ जेष्ठ २०८१, बुधबार

रवि लामिछानेविरुद्ध परेको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी


रवि लामिछाने र सर्वोच्च अदालत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

लामिछानेविरुद्ध परेको रिटमाथि सर्वोच्चका न्यायाधीश हरि फुयाँलको एकल इजलासमा आज बुधवार प्रारम्भिक सुनुवाई गर्दै महान्यायाधिवक्ताको कार्यालयलाई मुद्दा नचलाउनुको कारण माग गरेको हो ।

यसअघि रास्वपाका सभापति लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै दायर भएको रिट निवेदन सोमबार दर्ता भएको थियो । महान्यायाधिवक्ता डा. पोखरेलले गत चैत ६ गते लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेको बताइएको थियो । उक्त निर्णय बदर गर्न माग गर्दै रिट निवेदन परेको थियो ।

अधिवक्ता युवराज पौडेल ‘सफल’ले लामिछानेविरुद्ध दायर गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको थियो । आज बुधवार निवेदक पक्षका कानुन व्यवसायीहरूले बहस गरेका थिए ।

यो पनि पढ्नुहोस्

चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी कायम रहने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !