१४ जेष्ठ २०८१, सोमबार

उपनिर्वाचनका उम्मेदवारहरूको नामावली आज प्रकाशन गरिने


निर्वाचन आयोग

काठमाडौँ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरूको नामावली आज प्रकाशन गरिँदै छ । निर्वाचन आयोगले आगामी उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूको नामावली आज प्रकाशन गर्ने भएको हो ।

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार सोमबार उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध हिजो उजुरी दिएका थिए । उजुरीउपर आज आयोगले छानबिन गरी आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको हो ।

आयोगले आज अपराह्न ५ बजेसम्म उम्मेदवारीविरुद्ध परेका उजुरीको जाँचबुझ गरी आजै साँझ ६ बजेभित्र उम्मेदवारको नामावली सार्वजनिक गर्ने भएको हो । उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि भोलि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय निर्धारण गरिएको छ ।

तनहुँ-१, चितवन-२ र बारा २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदै छ । आगामी बैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान गराउने निर्वाचन आयोगको तयारी रहेको छ ।

गत मंसीर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकतासम्बन्धी मुद्धामा सर्वाेच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नंं. १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं. २ का लागि उपनिर्वाचन हुन लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !