२१ बैशाख २०८१, शुक्रबार

बारा-२ मा जसपाका अध्यक्ष उपेन्द्र यादवद्वारा उम्मेदवारी दर्ता


उपेन्द्र यादव

बारा । बारा निर्वाचन क्षेत्र नम्वर २ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर अध्यक्ष यादवले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले बारा–२ मा उम्मेदवारी नदिई जसपाका अध्यक्ष यादवलाई सघाउने भएका छन् । यादवलाई गठबन्धनमध्ये नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एसको समर्थन रहेको छ ।

अध्यक्ष यादव आफ्ना समर्थकहरुसहित बारा-२ मा उम्मेदवारी दर्ताका गरेका हुन् । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज चैत २० गते सोमबार यादवको उम्मेदवारको मनोनयनपत्र दर्ता भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बारा–२ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ । पूर्व युवा तथा खेलकुदमन्त्री समेत रहेका पौडेललाई एमालेले उम्मेदवार बनाउने निर्णय गरेको हो ।

जनमत पार्टीले बारा-२ मा शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ ।

यादव गत मंसिरको चुनावमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए । गत मंसीर ४ गतेको निर्वाचनमा निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा-२ का लागि उपनिर्वाचन हुन लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !